Online News Portal

ढकालविरुद्ध बहिष्कार अभियानमा पाठकको आपत्ति, ‘कलामाथि आक्रमण नगर्नू’

प्रकाशित: २३ बैशाख २०८३, बुधबार ०९:३२ | लेखक: मालिका खबर

काठमाडौं : यक रामकृष्ण ढकाल र उनको निर्माणमा बनेको चलचित्र ‘मालती मंगले’ विरुद्ध सामाजिक सञ्जालमा उठिरहेको बहिष्कार अभियानको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री शरदराज पाठक ले विरोध गरेका छन्। उनले यस्तो अभियानलाई आधारहीन भन्दै कला र कलाकारमाथि आक्रमण नगर्न आग्रह गरेका हुन्।

पाठकले सामाजिक सञ्जालमा सार्वजनिक गरेको धारणा अनुसार व्यक्तिगत सम्बन्ध वा कुनै एक घटनालाई आधार बनाएर कलाकारका सिर्जनामाथि सामूहिक बहिष्कार गर्नु घृणा फैलाउने कार्य भएको उल्लेख गरेका छन्।

हालै ढकालले आफ्ना मित्र रवि लामिछाने लाई जेनजी आन्दोलनका क्रममा सहयोग गरेको विषय सार्वजनिक भएपछि विवाद बढेको हो। उनी नख्खु कारागार पुगेर लामिछानेलाई लिएर फर्किएको घटनापछि सामाजिक सञ्जालमा उनको फिल्म बहिष्कार गर्नुपर्ने आवाज उठेको छ।

तर पाठकले यस्तो प्रवृत्तिलाई खतरनाक भन्दै कलाकारलाई राजनीतिक मतभेद वा व्यक्तिगत सम्बन्धका आधारमा ‘रद्द’ गर्न नहुने बताएका छन्। निजी सम्बन्धकै आधारमा बहिष्कार गर्ने क्रम बढे अन्ततः कुनै पनि कलाकार सुरक्षित नरहने उनले चेतावनी दिएका छन्।

उनले ढकाललाई नेपाली संगीत क्षेत्रमा योगदान पुर्‍याएका महत्वपूर्ण कलाकारका रूपमा उल्लेख गर्दै उनका सिर्जनाले समाजमा एकता ल्याउने भूमिका खेलेको दाबी गरेका छन्। साथै, ‘मालती मंगले’ चलचित्रबारे दर्शकले प्रदर्शनपछि आफ्नै विवेकले मूल्यांकन गर्नुपर्ने उनले बताएका छन्।

पाठकले बहिष्कारको संस्कृति बढ्दै जाँदा समाजमा असहिष्णुता फैलिने खतरा औंल्याउँदै असहमतिलाई सहिष्णु ढंगले लिन आग्रह गरेका छन्। कानुनी विषय कानुनमार्फत समाधान हुनुपर्ने र बहानामा कला तथा कलाकारमाथि आक्रमण गर्नु उचित नहुने उनको भनाइ छ।