काठमाडौं–तराई मधेस द्रुतमार्ग कहिले होला निर्माण सम्पन्न ?


काठमाडौं : रक्षा मन्त्री मानवीर राईले काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनामा खोकना क्षेत्रको जग्गा प्राप्ति स्थानीयवासीको भावनाअनुसार मात्र अघि बढाइने बताएका छन्। सिंहदरबारमा आज बसेको राष्ट्रिय सभा, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले उपत्यका बाहिरको जग्गा अधिग्रहण सकिएको भए पनि खोकना क्षेत्रमा स्थानीय सहमति प्राप्त गरेर मात्रै कार्य अघि बढाइने स्पष्ट पारे।
मन्त्री राईले नेपालमा जमिन निजी स्वामित्वमा हुने परम्परा र जंगलसम्बन्धी कानुनी प्रक्रिया द्रुतमार्गजस्ता ठूला पूर्वाधार परियोजनामा चुनौती बन्ने गरेको बताए। उनले २०८३ सालभित्र परियोजना सम्पन्न हुने विषयमा आशंका पनि व्यक्त गरे, कारण अझै धेरै काम बाँकी रहेको र समय सीमित भएको हो।
तर प्रधानसेनापति अशोकराज सिग्देलले भने सेनाले निर्धारित समयमै काम पूरा गर्ने दृढता दोहोर्याए। उनका अनुसार, हालसम्म करिब ४३ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ र अब हुने कामहरू छिटो सकिने खालका छन्। उनले सेनाले २०८३ चैत्रभित्र फास्ट ट्र्याक सम्पन्न गर्ने लक्ष्य कायम राखेको जनाए।
सिग्देलले काठमाडौं प्रवेशद्वारको रूपमा रहेको खोकना क्षेत्रको सांस्कृतिक सम्पदालाई जोगाउँदै निर्माण कार्य अघि बढाउनेगरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको बताए। उनका अनुसार, परियोजना अहिले तीव्र गतिमा अघि बढिरहेको छ।
बैठकमा सांसदहरूले द्रुतमार्गलाई रणनीतिक दृष्टिले अत्यन्तै महत्वपूर्ण भन्दै तोकिएको समयसीमाभित्रै निर्माण सम्पन्न गर्न सरकार र सेनाले आवश्यक कदम चाल्नुपर्नेमा जोड दिए। साथै, आयोजनामा देखिएका कानुनी, सामाजिक र प्राविधिक अवरोध समाधान गर्न सरकारले तत्काल पहल गर्नुपर्ने सुझावसमेत दिए।
आजको बैठकमा रक्षा मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति, समस्या समाधानका प्रयास र आगामी योजनाबारे विस्तृत छलफल गरिएको थियो।