Online News Portal

धार्मिक आस्थाको केन्द्र बन्दै बक्रेश्वर मन्दिर

काठमाडौँ: गोरखाको सहिद लखन गाउँपालिका-२ मनकामनामा रहेको बक्रेश्वर मन्दिर धार्मिक आस्थाको केन्द्रका रुपमा विकास हुँदै गएको छ ।बोल्न नसक्ने बालबालिकालाई मन्दिरको दर्शन तथा पूजापाठ गराए बोल्छन् भन्ने धार्मिक विश्वास रहँदै आएकाले पछिल्लो समय बक्रेश्वर मन्दिर भक्तजनको रोजाइमा पर्न थालेको हो ।

“वाक्य नफुटेका धेरै बालबालिकालाई धेरैजसो अभिभावकले यहाँ ल्याउने गर्नुहुन्छ”, मन्दिरका पुजारी फडिन्द्रबहादुर लामिछानेले भने, “यहाँ ल्याएर दर्शनगरी पूजापाठ गराएपछि धेरै बालबालिकाको बोली फुट्ने गरेकाले अभिभावकले पनि विश्वास गर्नुहुन्छ ।”

बोल्न नसक्ने बालबालिकाको बोली फुट्ने धार्मिक विश्वासका कारण बक्रेश्वर मन्दिरमा भारतबाट भक्तजन आउने गरेको उनले जानकारी दिए ।

बक्रेश्वरीस्थित घना जङ्गलको बीचमा रहेको मन्दिरको दर्शन गराएपछि २५ वर्षको उमेरसम्म बोली नफुटेको पाइएकाहरु पनि बोल्नसक्ने भएको पुजारी लामिछानेले बताए । उनका अनुसार बक्रेश्वर मन्दिर प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर नजिक पर्दछ ।

पढाइमा कमजोर भएका, सन्तान नभएकाले पनि यस मन्दिरको दर्शन तथा भाकलगरी पूजा गर्ने गरेका पुजारी लामिछानेले बताए । “बक्रेश्वर मन्दिरमा धेरैजसो भक्तजन वाक्य माग्न आउनुहुन्छ”, उनले भने, “अहिलेसम्म बोली नफुटेर यहाँ आएर बक्रेश्वर देवताको पूजाअर्चना गरेपछि बोल्ने गरेका पाएका छौँ ।”

बक्रेश्वर मन्दिरमा भाकल गरेकाले भाकल पूरा गर्न मन्दिरमा रहेका महादेवलाई बेलपत्र, गाईको दूध, जनैसुपारी, पहेँलो कपडा, शङ्ख, घण्ट, रुद्राक्षको माला चढाउने गर्दछन् । मन्दिर पञ्चवलिसमेत चढ्ने पुजारी लामिछानेले जानकारी दिए ।

Advertisement

Click the button below to skip this ad and read the full article.