Online News Portal

पहिरोको जोखिम बढेपछि आज रातिदेखि नारायणगढ–मुग्लिन सडक बन्द

प्रकाशित: ३ श्रावण २०८३, आईतवार १४:५१ | लेखक: मालिका खबर

 

चितवन : लगातारको वर्षासँगै पहिरो खस्ने जोखिम बढेपछि स्थानीय प्रशासनले नारायणगढ-मुग्लिन सडकखण्ड तथा चितवनतर्फको पृथ्वी राजमार्गमा आज राति १० बजेदेखि सवारी आवागमन रोक्ने निर्णय गरेको छ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार चितवनका विभिन्न स्थान तथा धादिङ क्षेत्रमा पहिरोको उच्च जोखिम रहेकाले यात्रुको सुरक्षा सुनिश्चित गर्न रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको हो।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा प्रतिकूल मौसम र सम्भावित प्राकृतिक विपद्का कारण रातिको यात्रा जोखिमपूर्ण हुन सक्ने भएकाले अर्को सूचना जारी नभएसम्म राति १० बजेपछि उक्त सडकखण्डमा सवारी सञ्चालन नगर्न आग्रह गरिएको छ।

प्रशासनले अत्यावश्यक अवस्थामा यात्रा गर्नुपरे स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरेर मात्र यात्रा गर्न अनुरोध गरेको छ।

यसअघि पनि लगातारको वर्षाका कारण शनिबार राति यही सडकखण्डमा सवारी आवागमन अस्थायी रूपमा बन्द गरिएको थियो। मनसुन सक्रिय भएसँगै नारायणगढ–मुग्लिन सडकमा पटक–पटक पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ।