गणेश आत्मदाह प्रकरण : महानगरमाथि जिम्मेवारी थोपर्ने प्रयास ? सुनिता डंगोललाई क्षतिपूर्तिमा हस्ताक्षर गराउन दबाब परेको दाबी
काठमाडौं : गणेश नेपालीको आत्मदाह प्रकरणपछि सरकारले काठमाडौं महानगरपालिकामाथि घटनाको जिम्मेवारी थोपर्ने प्रयास गरेको आरोप सार्वजनिक भएको छ। महानगरका अधिकारीहरूलाई प्रहरी परिसरमा लामो समय राखिएको र कार्यवाहक मेयर सुनीता डंगोललाई पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णयमा हस्ताक्षर गर्न दबाब दिइएको दाबी गरिएको छ।

स्रोतका अनुसार महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र नगर प्रहरी प्रमुख विष्णु जोशीलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा करिब ६ घण्टासम्म राखिएको थियो। सोही क्रममा प्रधानमन्त्री सचिवालय र काठमाडौंका प्रमुख जिल्ला अधिकारीमार्फत कार्यवाहक मेयर डंगोललाई पीडित परिवारलाई महानगरको तर्फबाट क्षतिपूर्ति दिने निर्णयमा हस्ताक्षर गर्न दबाब दिइएको बताइएको छ।
तर डंगोलले राज्यले व्यहोर्नुपर्ने क्षतिपूर्तिको दायित्व महानगरले लिन नसक्ने अडान राख्दै उक्त प्रस्तावमा हस्ताक्षर गर्न अस्वीकार गरेको स्रोतको भनाइ छ।
यस घटनाक्रमले सरकार र काठमाडौं महानगरबीच थप तनाव सिर्जना गरेको देखिएको छ। विशेषगरी गृहमन्त्री सुधन गुरुङले संसदमा आत्मदाह घटनामा नगर प्रहरीको भूमिकाबारे प्रश्न उठाएको दिन नै महानगरका दुई उच्च अधिकारीलाई प्रहरी परिसरमा लामो समय राखिएको घटनाले महानगरमाथि जिम्मेवारी सार्ने प्रयास भएको आशंका बलियो बनेको छ।
यद्यपि काठमाडौं महानगरपालिकाले घटनाको निष्पक्ष छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता दोहोर्याएको छ। साथै पीडित परिवारलाई मानवीय सहयोग उपलब्ध गराउने, परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्ने तथा सन्तानको निःशुल्क शिक्षाको जिम्मेवारी लिने निर्णय समेत महानगरले गरेको जनाएको छ।
यता सरकारले भने घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ। आत्मदाह प्रकरणको वास्तविक कारण र जिम्मेवारीबारे निष्कर्ष अनुसन्धानपछि मात्रै स्पष्ट हुने अपेक्षा गरिएको छ।