Online News Portal

विद्युत् महसुल बक्यौता उठाउने प्रक्रिया रोकिन्न : ऊर्जा मन्त्री श्रेष्ठ

प्रकाशित: ३० असार २०८३, मंगलवार ११:०८ | लेखक: मालिका खबर

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुलको बक्यौता उठाउने कार्य कुनै पनि हालतमा नरोकिने बताएका छन्। उद्योगी–व्यवसायी वा अन्य कुनै पनि उपभोक्ताले राज्य तथा नेपाल विद्युत् प्राधिकरणलाई तिर्नुपर्ने रकम तिर्नै पर्ने भन्दै उनले कानुनी प्रक्रियाअनुसार बक्यौता असुलीलाई निरन्तरता दिइने स्पष्ट पारे।

मङ्गलवार सिंहदरबारमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मन्त्री श्रेष्ठले बक्यौता असुली नियमित प्रशासनिक प्रक्रिया भएको उल्लेख गरे। उनले राज्यलाई बुझाउनुपर्ने रकमबाट कसैले पनि उन्मुक्ति पाउन नसक्ने भन्दै कानुन सबैका लागि समान रूपमा लागू हुने बताए।

ऊर्जा आपूर्तिको अवस्थाबारे बोल्दै मन्त्री श्रेष्ठले हरेक वर्ष असार, साउन र भदौ महिनामा वर्षायामका कारण विद्युत् प्रणालीमा विभिन्न चुनौती देखिने गरेको स्मरण गराए। यद्यपि, यस वर्ष सम्भावित समस्या न्यूनीकरण गर्न मर्मत तथा व्यवस्थापनका कामलाई पहिलेभन्दा छिटो र प्रभावकारी बनाइएको उनको दाबी छ।

उनले विगतका वर्षमा वर्षायामलाई देखाएर सेवा अवरुद्ध हुने अवस्था दोहोरिन नदिन नेपाल विद्युत् प्राधिकरणलाई आवश्यक तयारी गर्न निर्देशन दिइएको पनि बताए। चुनौतीहरू भए पनि त्यसलाई बहाना बनाएर सेवा प्रवाहमा ढिलाइ गर्न नपाइने उनको भनाइ थियो।

मन्त्री श्रेष्ठका अनुसार विद्युत् प्रसारण तथा वितरण प्रणालीलाई थप भरपर्दो र आधुनिक बनाउन सरकारले चालु आर्थिक वर्षदेखि आवश्यक बजेट विनियोजन गर्नुका साथै स्तरोन्नतिसम्बन्धी कार्यक्रमहरू समेत अघि बढाएको छ। उनका अनुसार यी योजनाले आगामी दिनमा विद्युत् आपूर्तिलाई थप स्थिर, सुरक्षित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।