नेपाल महिला फुटबलमा संकटाको एकतर्फी जित, सेमिफाइनल समीकरण पूरा
काठमाडौं । घानाकी खेलाडी लुसिया जेम्स को डबल ह्याट्रिक प्रेरित प्रदर्शनमा संकटा क्लब ले साविक विजेता कपिलवस्तु–११ लाई ११–१ गोलले हराउँदै दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता–२०८३ को सेमिफाइनलमा स्थान बनाएको छ ।

बुटवलस्थित सिद्धेश्वर खेलमैदानमा मंगलबार सम्पन्न पहिलो चरणको अन्तिम खेलमा संकटाले सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गर्दै कपिलवस्तुमाथि एकतर्फी दबाब बनाएको थियो ।
खेलको पाँचौं मिनेटमै लुसियाले गोल गर्दै संकटालाई अग्रता दिलाएकी थिइन् । तर त्यसको दुई मिनेटपछि कपिलवस्तुकी प्रतिमा जर्घामगरले बराबरी गोल फर्काउँदै खेललाई १–१ को अवस्थामा पुर्याएकी थिइन् । त्यसपछि भने संकटाले लगातार गोलको वर्षा गर्यो ।
लुसियाले पहिलो हाफमै चार गोल गरिन् भने दोस्रो हाफमा थप तीन गोल गर्दै व्यक्तिगत रूपमा डबल ह्याट्रिक पूरा गरिन् । संकटाकी अर्की विदेशी खेलाडी क्विनवेलले पनि ह्याट्रिकसहित चार गोल थपिन् । दोस्रो हाफमा मात्रै संकटाले ६ गोल गरेको थियो ।
उत्कृष्ट प्रदर्शन गरेकी लुसिया खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।
यो जितसँगै संकटाले वैशाख ३१ गते हुने सेमिफाइनलमा अभिषेक चर्च सँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । अभिषेक चर्चले आयोजक बीस पचहत्तर युवा परिवार लाई हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।
प्रतियोगिताको अर्को सेमिफाइनलमा नेपाल पुलिस क्लब र ट्रिनिटी क्लब बीच प्रतिस्पर्धा हुनेछ । पुलिसले हेटौँडा फुटबल एकेडेमीलाई तथा ट्रिनिटीले पद्मा स्पोर्ट्स, ओखलढुंगालाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेका हुन् ।
प्रतियोगिताको विजेताले दुई लाख ५० हजार रुपैयाँ तथा उपविजेताले एक लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँ र विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ ले पाँच हजार रुपैयाँ नगद प्राप्त गर्नेछ ।
आयोजक संस्था बीस पचहत्तर युवा परिवार का अध्यक्ष सुरेन्द्र थापा का अनुसार प्रतियोगिताको फाइनल खेल जेठ २ गते हुनेछ । प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ ।