सेवासुविधाको रकम सामाजिक काममा खर्च गर्दै धनगढीका मेयर हमाल
काठमाडौँ : सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीका मेयर गोपाल हमालले चार वर्षको अवधिमा प्राप्त गरेको सेवासुविधा सामाजिक क्षेत्रमा खर्च गरेका छन् । २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका हमालले निर्वाचनकै बेला सरकारी सुविधा व्यक्तिगत प्रयोजनमा प्रयोग नगर्ने घोषणा गरेका थिए ।
मेयर हमालले चार वर्षमा सेवासुविधाबापत ३८ लाख ८२ हजार ८७३ रुपैयाँ प्राप्त गरेका छन् । उक्त रकममा व्यक्तिगततर्फबाट ५ लाख १७ हजार १२७ रुपैयाँ थपेर कुल ४४ लाख रुपैयाँ सामाजिक तथा शैक्षिक क्षेत्रमा खर्च गर्ने तयारी गरिएको मेयर सचिवालयले जनाएको छ । हालसम्म २३ लाख ९८ हजार रुपैयाँ खर्च भइसकेको र बाँकी २० लाख २ हजार रुपैयाँ चालु आर्थिक वर्षभित्र खर्च गरिने बताइएको छ ।

मेयर हमालले आर्थिक वर्ष २०७८/०७९ मा पाएको १ लाख ३७ हजार २७३ रुपैयाँ गौ संरक्षण तथा फरक क्षमता भएका बालबालिकाको सहयोगमा खर्च गरेका थिए । उक्त रकममध्ये गौ संरक्षण समिति धनगढीलाई ५५ हजार ६८७ रुपैयाँ र दक्षकाली बहिरा आधारभूत विद्यालयलाई ८१ हजार ५८६ रुपैयाँ सहयोग गरिएको थियो ।
आर्थिक वर्ष २०७९/०८० मा प्राप्त ९ लाख ३६ हजार ४०० रुपैयाँ दृष्टि फाउन्डेसन, आमाको माया छात्रबास, खगेन्द्र नवजीवन केन्द्र, पञ्चोदय माविका दृष्टिविहीन विद्यार्थी तथा दक्षकाली बहिरा आधारभूत विद्यालयका विद्यार्थीलाई कपडा वितरणमा खर्च गरिएको सचिवालयले जनाएको छ । यस अवधिमा २६९ जनालाई कपडा वितरण गरिएको थियो ।
त्यसैगरी, आर्थिक वर्ष २०८०/०८१ मा प्राप्त सेवासुविधा रकमबाट कक्षा ८ को परीक्षामा शून्य नतिजा आएका १७ सामुदायिक विद्यालयका ३ हजार ४८९ विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिएको थियो ।
आर्थिक वर्ष २०८१/०८२ को सेवासुविधा पनि विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरणमै खर्च गरिएको छ । यसअन्तर्गत ४७ सामुदायिक विद्यालयमा अध्ययनरत ७ हजार ४७५ बालबालिकाका लागि शैक्षिक सामग्री खरिद गरिएको सचिवालयले जनाएको छ । चालु आर्थिक वर्षमा पनि यही कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ ।
मेयर हमालले आर्थिक अभावका कारण बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले आफ्नो सेवासुविधा सामाजिक क्षेत्रमा खर्च गरिरहेको बताए । उनले केही वर्षअघि कक्षा ८ को परीक्षामा शून्य नतिजा आएका विद्यालयसँग छलफल गर्दा विद्यार्थीले किताब–कलम किन्नसमेत समस्या भोगिरहेको जानकारी पाएपछि शैक्षिक सहयोगलाई प्राथमिकता दिएको बताए ।