Online News Portal

भ्रामक प्रचारकविरुद्ध चौधरी ग्रुपद्वारा साइबर ब्युरोमा उजुरी

भ्रामक सूचना प्रवाह तथा प्रतिष्ठामा आँच पुर्‍याउने गतिविधिविरुद्ध चौधरी ग्रुपले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दायर गरेको छ ।

चौधरी ग्रुपले मंगलबार साइबर ब्युरोमा उजुरी दर्ता गराउँदै सामाजिक सञ्जालमार्फत केहि व्यक्ति तथा पेजले गलत तथा भ्रामक सूचना प्रसारण गरी यस संस्थाका अध्यक्ष विनोद चौधरीको व्यक्तिगत तथा संस्थागत प्रतिष्ठामा आँच पुर्‍याउने प्रयास गरिएको जनाउदै ती व्यक्ति तथा पेज विरुद्द उजुरी दर्ता गराएको हो ।

ग्रुपले ‘सचेत खबर’ नामक फेसबुक पेज र अर्जुन ज्ञावलीको ट्विटर (एक्स) अकाउन्ट विरुद्ध उजुरी दायर गरेको जनाएको छ । उजुरीअनुसार ‘सचेत खबर’ फेसबुक पेजले बासबारी छाला जुत्ता कारखानाको जग्गासँग सम्बन्धित विषयमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको नाम जोड्दै ‘चौधरी पक्राउ पर्दै’ भन्ने शीर्षकसहित भ्रामक सामग्री प्रकाशित गरेको थियो । उक्त सामग्रीले जनमानसमा गलत सन्देश प्रवाह गरी अध्यक्ष चौधरीको चरित्रहत्या गर्ने उद्देश्य राखेको ग्रुपले जनाएको छ ।

त्यस्तै, अर्जुन ज्ञावलीको ट्विटर (एक्स) अकाउन्टबाट ‘मसानघाटको ६० करोड मूल्य बराबरको सार्वजनिक जग्गा चौधरी ग्रुपको नाममा’ भन्ने भ्रामक सन्देश सम्प्रेसन गर्दै अध्यक्ष विनोद चौधरीको व्यक्तिगत तथा संस्थागत प्रतिष्ठामा आँच आउने गरी भ्रमको खेती गरिएको चौधरी ग्रुपले जनाएको छ । उक्त कुरा पूर्णत भ्रामक रहेकोले प्रमाणित गरेर देखाउन अन्यथा यस्ता कार्यमाथि कडा कारवाही हुनुपर्ने ग्रुपले उजुरीमा भनेको छ ।

चौधरी ग्रुपले यस्ता कार्य ‘विद्युतीय कारोबार ऐन’ अन्तर्गत गैरकानुनी भएको उल्लेख गर्दै संलग्न व्यक्तिमाथि कानुन बमोजिम कडा कारबाहीको माग गर्दै साइबर ब्युरोमा उजुरी निवेदन दिएको हो ।

ग्रुपले आफू सधैं निष्पक्ष पत्रकारिता र सत्यतथ्यमा आधारित सूचना प्रवाहको पक्षमा रहेको स्पष्ट पार्दै भ्रामक सूचना र अफवाह फैलाउने गतिविधिले सामाजिक सन्तुलनमा नकारात्मक असर पार्ने भएकाले यस्ता कार्यलाई निरुत्साहित गर्नुपर्ने समेत जनाएको छ।

यस विषयमा साइबर ब्युरोले प्राप्त निवेदनमाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइसकेको जनाएको छ ।

 

Advertisement

Click the button below to skip this ad and read the full article.