Online News Portal

एआई समर्थित ‘ग्लोबल डायरी’ सार्वजनिक, व्यवसाय र सरकारलाई एकीकृत डिजिटल इकोसिस्टममा जोड्ने लक्ष्य

काठमाडौं । व्यवसाय, सरकारी निकाय र आम नागरिकलाई एउटै सुरक्षित, संरक्षित र दिगो डिजिटल प्लेटफर्ममा आबद्ध गर्ने उद्देश्यसहित नेपालमै विकसित एआई समर्थित एकीकृत डिजिटल इकोसिस्टम ‘ग्लोबल डायरी’ सञ्चालनमा आएको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत उक्त प्लेटफर्म औपचारिक रूपमा सार्वजनिक गरिएको हो।

ग्लोबल डायरीले व्यवसायहरूलाई आफ्नो डिजिटल उपस्थितिलाई वेबसाइटस्तरमा विस्तार गर्न, बजारीकरण खर्च घटाउन र ग्राहकसँग प्रत्यक्ष संवाद गर्न सहज बनाउने दाबी गरिएको छ। प्लेटफर्ममार्फत उपभोक्तासँग सीधा सम्बन्ध स्थापित गर्न सकिने भएकाले प्रचार–प्रसार तथा सञ्चालन खर्चमा उल्लेख्य कमी आउने र त्यसबाट व्यवसायी तथा उपभोक्ता दुवैले प्रत्यक्ष लाभ पाउने जनाइएको छ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. विनोद आत्रेयले विभिन्न सामाजिक सञ्जालका विशेषताहरूलाई एकीकृत गर्दै आम जनतालाई अवसर, व्यापार र सेवामार्फत जोड्ने उद्देश्यले ल्याइएको यस पहलको सफलताको शुभकामना व्यक्त गरे। ग्लोबल डायरीका अध्यक्ष शेखर अर्यालले डिजिटल युगमा नेपालले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहुँच विस्तार गर्ने आधारका रूपमा यो प्लेटफर्म विकास गरिएको बताए। उनले उपभोक्ता, व्यवसायी, मिडिया र सरकारी निकाय सबैलाई लाभ पुग्ने भएकाले सहभागी हुन आग्रह गरे।

कम्पनीका प्रमुख कार्यकारी निर्देशक तथा संस्थापक भगवानदास अग्रहरिले ग्लोबल डायरी केवल सामाजिक सञ्जाल, ई–कमर्स वा रोजगार प्लेटफर्म मात्र नभई समग्र डिजिटल इकोसिस्टम भएको बताए। उनका अनुसार यसले नागरिकलाई आधिकारिक सेवा प्रदायक खोज्न, समीक्षा अध्ययन गर्न र आवश्यकताअनुसार निर्णय लिन सहयोग पुर्‍याउँछ। उन्नत एआई प्रविधिको प्रयोगले प्रयोगकर्तालाई सान्दर्भिक सेवा र रोजगारी सिफारिस गर्ने, प्रमाणित स्थानीय व्यवसाय पहिचान गर्न सहयोग गर्ने तथा नक्कली गतिविधि नियन्त्रण गर्दै तथ्याङ्कको गोपनीयता सुनिश्चित गर्ने दाबी गरिएको छ।

राष्ट्रिय समाचार समितिका सञ्चालक समिति सदस्य कृष्ण अधिकारीले विश्वसनीय राष्ट्रिय डिजिटल प्लेटफर्मको आवश्यकता महसुस भइरहेको अवस्थामा ग्लोबल डायरीले एकीकृत र भरपर्दो इकोसिस्टम निर्माण गरेको बताए। सञ्चालक कृष्ण सापकोटाले युवा, विद्यार्थी, रोजगारी खोजीकर्ता, उद्यमी, व्यवसायी, पेसागत सङ्गठन तथा स्थानीय सेवा प्रदायकलाई लक्षित गरी प्लेटफर्म सञ्चालनमा ल्याइएको जानकारी दिए।

Advertisement

Click the button below to skip this ad and read the full article.