Online News Portal

आगामी हप्ता ओली र लेखकसँग बयान लिने तयारीमा जेनजी आयोग

काठमाडौं : जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको उच्चस्तरीय जाँचबुझ आयोगले आगामी हप्तादेखि राजनीतिक नेतृत्वसँग बयान लिने तयारी गरेको छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाउने विषयमा चर्चा चलिरहेका बेला आयोगले बुधबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी सो जानकारी गराएको हो।

प्रधानमन्त्रीसँगको भेटपछि आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आयोगले अब बाँकी सबै सरोकारवालालाई बयानका लागि बोलाउने तयारी गरेको बताए। उनले आयोगले अर्को हप्तादेखि क्रमशः सबैलाई बयानमा उपस्थित गराइने स्पष्ट पारे।

अध्यक्ष कार्कीले भने, “हामी सबैलाई बोलाउँछौँ। अर्को हप्ता नै प्रक्रिया अगाडि बढ्छ। उपस्थित नहुनेहरूको विषयमा के गर्ने भन्ने निर्णय पछि गरिनेछ।”

जेनजी आन्दोलनका क्रममा ठूलो धनजनको क्षति भएको निष्कर्षसहित अन्तरिम सरकारले दोषी पहिचान गरी कारबाहीका लागि कार्की नेतृत्वमा उक्त उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो।

Advertisement

Click the button below to skip this ad and read the full article.