Online News Portal

अमेरिकी जहाजलाई खतरामा पारे भेनेजुएलाका जेट खसालिदिने ट्रम्पको चेतावनी

काठमाडौं : अमेरिका र भेनेजुएलाबीचको तिक्त सम्बन्ध फेरि चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका लडाकु विमानहरू अमेरिकी नौसैनिक जहाजको वरिपरि खतरनाक तरिकाले उडान भरेमा ती विमानलाई खसालिने चेतावनी दिएका छन्।

यो चेतावनी दुई दिनमै दोस्रोपटक भेनेजुएलाले आफ्नो सैन्य जेट अमेरिकी युद्धपोत नजिक ल्याएपछि आएको हो। अमेरिकी अधिकारीहरूले सीबीएस न्युजलाई दिएको जानकारीअनुसार, ट्रम्प प्रशासनले यसलाई “उत्तेजक र जोखिमपूर्ण गतिविधि” को रूपमा लिएको छ।

अमेरिकाले भेनेजुएलामाथि लामो समयदेखि लागुऔषध तस्करीमा संलग्न भएको आरोप लगाउँदै आएको छ। केही दिन अघि अमेरिकाले भेनेजुएलाबाट आएको, माफियाले नियन्त्रण गरेको भनिएको, लागुऔषध बोकेको जहाजमाथि आक्रमण गर्दा ११ जनाको ज्यान गएको थियो।

यसैबीच, अमेरिकाले भेनेजुएलाको तट क्षेत्रमा युद्धपोतहरू तैनाथ गरेको छ। ट्रम्प प्रशासन भेनेजुएलाको मादुरो सरकारमाथि दबाब बढाउँदै आएको छ भने मादुरोले अमेरिकामाथि “सैन्य धम्की र सत्ता परिवर्तनको षड्यन्त्र” को आरोप लगाएका छन्।

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकी आरोपलाई “पूर्णतया निराधार” भन्दै खारेज गरेका छन्। उनले भेनेजुएला युद्ध वा द्वन्द्व होइन, संवाद र वार्ताको पक्षमा रहेको बताए।

“हामीलाई युद्ध चाहिएको छैन, हामीलाई सम्मान चाहिएको हो,” मादुरोले भने।

उनका अनुसार दुई देशबीचको मतभेदले सैन्य संघर्षलाई औचित्य दिने आधार छैन।

शुक्रबार ओभल अफिसमा पत्रकारले सोधेको प्रश्न, “यदि भेनेजुएलाका जेट फेरि अमेरिकी जहाजमाथि उडे भने के हुन्छ ?” मा ट्रम्पले छोटकरी तर धम्कीपूर्ण जवाफ दिए

“भेनेजुएला समस्यामा पर्छ।”

उनले आफ्नो छेउमा उभिएका सैन्य जनरललाई इशारा गर्दै, परिस्थिति बिग्रिएमा अमेरिकाले “जस्तोसुकै कदम चाल्न सक्ने” संकेत गरे।

जनवरीमा फेरि सत्तामा फर्किएदेखि ट्रम्पले ल्याटिन अमेरिकामा लागुऔषध तस्करीविरुद्धको अभियानलाई आक्रामक रूपमा अघि बढाएका छन्। भेनेजुएला, जसको अर्थतन्त्र तेल र आयातमा निर्भर छ, पश्चिमी प्रतिबन्धका कारण झनै संकटमा परेको छ। अमेरिकाको थप सैन्य उपस्थिति र चेतावनीले द्वन्द्वको सम्भावना झनै बढेको देखिन्छ।

Advertisement

Click the button below to skip this ad and read the full article.