लगातार दोस्रो जितसहित नेपालको बलियो पुनरागमन

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीले टप एन्ड टि–२० सिरिजमा लगातार दोस्रो जित निकाल्दै उत्साहजनक पुनरागमन गरेको छ। सोमपाल कामीको घातक बलिङको बलमा नेपालले मेलबर्न रेनेगेड्सलाई ३३ रनले पराजित गरेको हो।
नेपालले पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १३९ रनको मध्यम लक्ष्य खडा गरेको थियो। जब मेलबर्न रेनेगेड्स १४० रनको लक्ष्यसहित मैदानमा उत्रियो, नेपाली बलरहरूले सुरु देखिनै दवाव सिर्जना गरे।
रेनेगेड्सको सुरुवात निकै कमजोर रह्यो। सुरुवाती २६ रनभित्रै उनीहरूले ३ विकेट गुमाइसकेका थिए। डायलन ब्रासरलाई सोमपाल कामीले मात्र २ रनमा बोल्ड गरे भने, ह्यारी डिक्सनलाई कुशल भुर्तेलको बलमा दीपेन्द्र सिंह ऐरीले क्याच आउट गरे। कप्तान विल्स सुदरल्याण्ड पनि ६ रनमा सहाब आलमको सिकार बने।
यसपछि पनि टोली सम्हालिन सकेन। ओलिभर पिके १४ रनमै रुपेश सिंहको बलमा आउट भए। त्यसपछि फेरि सोमपाल कामीले लगातार दबाब बनाउँदै जल लेमिरेलसईलाई १८ रनमा र अर्जुन नेरलसईलाई ३६ रनमै पभेलियन फर्काए।
अन्तिम क्षणसम्म पनि मेलबर्न संघर्षमै थियो। अन्तिम ओभरमा सोमपालले ह्यारी होक्स्ट्रालाई ११ रन र कालम स्टोलाई शून्य रनमा आउट गर्दै आफ्नो पाँचौ विकेट हात पारे। रेनेगेड्स २० ओभरमै अलआउट हुँदै १०६ रनमै सिमित रह्यो।
नेपाली बलिङको चमक
आजको खेल सोमपाल कामीका नाममा रह्यो। उनले ४ ओभरमा मात्र १७ रन खर्चेर ५ विकेट झारे। कुशल भुर्तेलले ३ विकेट लिए भने सहाब आलम र रुपेश सिंहले १–१ विकेट लिए।
ब्याटिङमा नेपाल अपेक्षित रुपमा प्रदर्शन गर्न सकेन। ओपनर कुशल भुर्तेल १ रनमै आउट भए भने आरिफ शेखले पनि १२ रन मात्रै बनाए। भीम सार्की र कुशल मल्लले तेस्रो विकेटका लागि ५० रनको साझेदारी गर्दै इनिङ सम्हाल्ने प्रयास गरे। भीम २७ रनमा आउट भए भने कुशल २२ बलमा २९ रन बनाएर पभेलियन फर्किए।
नेपालले बीचका ओभरमा लगातार विकेट गुमाएको थियो। गुलशन झा २ रनमै आउट भए भने सोमपाल कामी खाता नै नखोली फर्किए। त्यसपछि दीपेन्द्र सिंह ऐरीले २७ रन र लोकेश बमले २४ रन बनाएर स्कोर अगाडि बढाए। अन्त्यतिर रुपेश सिंह अविजित १६ रनमा क्रिजमै रहे।
मेलबर्नका बलरहरू मध्ये फर्गस ओ नेल, कालुम स्टो, लाचलान बाङ्स र माइकल आर्चरले समान २–२ विकेट लिए।
नेपालले यसअघि लगातार तीन खेलमा हार बेहोरेको थियो। तर पछिल्ला दुई खेलमा लगातार जित हात पार्दै टोलीले आफ्नो आत्मविश्वास फर्काएको छ। आजको खेलमा कप्तान रोहित पौडेल, सन्दीप लामिछाने, आशिफ शेख, रिजन ढकाल र करण केसीलाई आराम दिइएको थियो।