७६ लाख ब्लड मनी तिरेर दुबईबाट स्वदेश फर्किए सल्यानका युवराज थापा


साउदी/काठमाडौ : वैदेशिक रोजगारीका क्रममा दुबई पुगेका सल्यान त्रिवेणी गाउँपालिका–६ का ३४ वर्षीय युवराज थापा लामो कानुनी लडाइँ र ठूलो आर्थिक क्षतिपूर्ति तिरेर अन्ततः स्वदेश फर्किएका छन्।
थापा २०७९ सालमा रोजगारीका लागि फस्ट सेक्रेटी ग्रुप नामक कम्पनीमार्फत दुबई पुगेका थिए। उनी दुबईको प्रतिष्ठित हयात होटेलमा लाइफ गार्डको रूपमा कार्यरत थिए। तर सन् २०२३ मा त्यही होटेलको स्विमिङ पूलमा कार्यरत रहँदै गर्दा एक व्यक्ति हृदयघातका कारण पूलमै मृत्यु भए।
यो घटनापछि मृतकका परिवारले थापामाथि लापरबाहीको आरोप लगाउँदै दुबईको अदालतमा मुद्दा दायर गरे। अदालतले अनुसन्धानपछि थापालाई दोषी ठहर गर्दै मृतक परिवारलाई दुई लाख दिराम (झन्डै ७६ लाख नेपाली रुपैयाँ) ब्लड मनी तिर्न आदेश दियो।
अचानक ठूलो आर्थिक क्षतिपूर्ति तिर्नुपर्ने अवस्थामा पुगेपछि थापाको परिवारले नेपाल तथा विदेशमा रहेका नेपालीहरूलाई सहयोगको अपिल गरे। सामाजिक सञ्जाल, प्रवासी नेपाली संघ तथा व्यक्तिगत सहयोगकर्ताहरूको सहायतामा आवश्यक रकम संकलन भयो।
आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै थापाले अदालतले तोकेको रकम बुझाएपछि उनको थुनामुक्ति भयो र उनी हिजो दुबईबाट स्वदेश फर्किए।
नेपाल फर्किएपछि थापा र उनका परिवारले सहयोग गर्ने सबैलाई आभार प्रकट गर्दै भने, “हामीले यो कठिन समय पार गर्न पाएको सबैको सहानुभूति, प्रार्थना र सहयोगका कारण सम्भव भयो। यो ऋण हामी कहिल्यै बिर्सने छैनौं।”
यस घटनाले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले विदेशमा सामना गर्ने कानुनी जोखिम, आर्थिक बोझ र सहयोगी हातहरूको महत्त्वलाई फेरि एकपटक उजागर गरेको छ।