ग्यास लिक हुँदा जुम्लामा घरमा आगलागी, अन्नपात र लत्ताकपडा जले

काठमाडौँ : जुम्लाको पातारासी गाउँपालिका–६ बाता गाउँमा आइतबार बिहान ग्यास लिक हुँदा आगलागी भएको छ।
स्थानीय रणु महताराको जस्ताले छाएको तीन तले कच्ची घरमा बिहान साढे ६ बजे खाना पकाउने क्रममा ग्यास लिक भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
दोस्रो तलाको कोठामा रहेको ग्यास चुलो बाल्ने क्रममा ग्यास लिक भएपछि आगो फैलिएको हो। मानवीय क्षति नभए पनि अन्नपात, लत्ताकपडा, भाँडावर्तन लगायतका सामग्री जलेर पूर्ण रूपमा नष्ट भएका छन्।
आगो लागेपछि अस्थायी प्रहरी चौकीबाट प्रहरी हवल्दार मनोजराज गिरीको नेतृत्वमा खटिएको टोलीले आगो नियन्त्रणमा लिएको हो।
हाल घटनास्थलमा क्षतिको विस्तृत विवरण संकलन र मूल्याङ्कनको काम भइरहेको प्रहरीको भनाइ छ।