हवाई सेवा प्राधिकरण मन्त्रीकै नेतृत्वमा बनाउने माओवादीको प्रस्ताव

काठमाडौं : नेपालमा हवाई सेवाको सुधार र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित नेकपा माओवादी केन्द्रले मन्त्रीकै नेतृत्वमा हवाई सेवा प्राधिकरण गठन गर्नुपर्ने प्रस्ताव अघि सारेको छ।
पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले बिहीबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उक्त प्रस्ताव राखेका हुन्। बैठकमा हाल छलफलमा रहेको ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ सम्बन्धी विषय उठाइएको थियो।
पाण्डेले हवाई सेवाको गुणस्तर र व्यवस्थापन सुधारका लागि देशमै दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता औंल्याउँदै भने, “हामी जनशक्ति उत्पादनमा परनिर्भर छौं, अब आफ्नै स्रोत र सीप प्रयोग गरेर हवाई सेवा व्यवस्थापन गर्न सक्नुपर्छ।”
उनको प्रस्ताव अनुसार, हवाई सेवा प्राधिकरण सरकारकै प्रत्यक्ष नेतृत्वमा स्थापना हुनुका साथै, स्वदेशी सीपयुक्त जनशक्ति उत्पादन तथा प्रशिक्षणमा जोड दिनुपर्ने छ। यसले दीर्घकालीन रूपमा नेपालको हवाई क्षेत्रलाई आत्मनिर्भर र व्यवस्थित बनाउने विश्वास उनले व्यक्त गरे।
पाण्डेले यो सुझाव विधेयकमा स्पष्ट रूपमा समावेश गर्न आग्रह गर्दै भने, “हवाई सेवा प्रभावकारी बनाउन परनिर्भरता हटाउनु अनिवार्य छ। त्यसका लागि प्राधिकरण निर्माण र जनशक्ति उत्पादनमा गम्भीर ध्यान दिनुपर्छ।”