Online News Portal

बालुवाटारमा मन्त्री गुप्ता, घुस डिलको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्रीको कारबाही तयारी

काठमाडौं :  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता घुस डिलको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।

सोमबार बिहान पौने ११ बजे उनी बालुवाटार पुगेका हुन्। ७८ लाख रुपैयाँ घुससम्बन्धी डिल भएको अडियो सार्वजनिक भएपछि मन्त्री गुप्ता आलोचनाको केन्द्रमा परेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रतिपक्षी दलले सो अडियोबारे सरकारसँग स्पष्टीकरण मागेका थिए भने सर्वसाधारणबाट पनि सरकारको आलोचना भइरहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गुप्तालाई बर्खास्त गर्ने तयारी गरिरहेका बेला उनको बालुवाटार पुग्नु महत्वपूर्ण मानिएको छ। स्रोतका अनुसार, मन्त्री गुप्तालाई राजीनामा गर्न आग्रह गरिने सम्भावना छ, अन्यथा सिधै बर्खास्त गरिनेछ। ‘राजीनामा नै पहिलो विकल्प हो,’ स्रोतले भन्यो, ‘त्यो नमान्ने हो भने बर्खास्तको निर्णय गर्नुपर्ने हुन्छ।’

उक्त अडियोमा मन्त्री गुप्ताले अर्का मन्त्री बलराम अधिकारीमाथि पनि घुस लिएको आरोप लगाएका छन्। तर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अधिकारीमाथि भने तत्काल कुनै निर्णय नलिइने स्रोतको भनाइ छ। ‘मन्त्री गुप्ताकै भनाइ पुष्टि हुन बाँकी छ, त्यसैले अर्का मन्त्रीलाई तुरुन्त एक्सन लिने अवस्था छैन,’ स्रोतले भन्यो।

अडियो विवरण अनुसार, भूमि आयोग कास्कीको जिल्ला अध्यक्ष नियुक्तिका लागि मन्त्री गुप्ता र एक बिचौलिया बीच भएको घुससम्बन्धी संवाद सार्वजनिक भएको हो। सो क्रममा मालपोत कार्यालय कास्कीका प्रमुख सरुवामा पनि ५३ लाख घुसको डिल भएको उल्लेख छ।

यद्यपि अडियोमा नाम लिइएको व्यक्ति आयोगको जिल्ला अध्यक्ष नियुक्त नभएको र एमालेका जिल्ला तथा प्रदेश नेताहरूका कारण प्रस्तावित नाम असफल भएको बताइएको छ।

यो प्रकरणले राजनीतिक नियुक्ति प्रणाली र सरकारी सरुवामा भइरहेको घुस डिलको गम्भीर प्रश्न उठाएको छ। अब प्रधानमन्त्रीको निर्णयपछि मन्त्री गुप्ताको राजनीतिक भविष्य तय हुनेछ।

Advertisement

Click the button below to skip this ad and read the full article.