Online News Portal

फ्रान्स पुगे मन्त्री पाण्डे, तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने तयारी

काठमाडौं:  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे युनेस्कोको वर्ल्ड हेरिटेज कमिटीको बैठकमा सहभागी हुन सोमबार फ्रान्स प्रस्थान गरेका छन्।

पेरिसमा आयोजना हुने उक्त अन्तर्राष्ट्रिय बैठकमा मन्त्री पाण्डेले कपिलवस्तुको ऐतिहासिक स्थल तिलौराकोट लाई युनेस्कोको विश्वसम्पदा सूचीमा सूचीकृत गराउन प्रस्ताव राख्ने कार्यक्रम रहेको छ।

उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्रान्सतर्फ प्रस्थान गर्दा मन्त्रालयका सचिव हरिप्रसाद मैनालीसहित उच्च अधिकारीहरूले बिदाइ गरेका थिए।

मन्त्रालयका अनुसार यो भ्रमण तिलौराकोटको अन्तर्राष्ट्रिय मान्यता दिलाउने दिशामा महत्वपूर्ण कदम हुनेछ। लामो समयदेखि तिलौराकोटलाई यसको ऐतिहासिक र पुरातात्त्विक मूल्यका आधारमा विश्वसम्पदा सूचीमा राख्न माग हुँदै आएको थियो।

युनेस्कोको वर्ल्ड हेरिटेज कमिटीमा हाल २१ सदस्य राष्ट्र छन्। एसियाली प्रतिनिधिहरूमा भारत, कतार, जापान र कोरिया रहेका छन्। कमिटीको निर्णय बहुमतको आधारमा हुने भएकाले नेपालको प्रस्तावले ती सदस्य राष्ट्रहरूको समर्थन जुटाउनुपर्नेछ।

सरकारले तिलौराकोटको स्वामित्व लिएर आवश्यक प्रक्रिया अघि बढाइरहेको र यसलाई सूचीकृत गराउने प्रयासलाई तीव्रता दिएको जनाएको छ।

Ask ChatGPT

Advertisement

Click the button below to skip this ad and read the full article.