हतुवागढीका किसान व्यावसायिक कफीखेतीतर्फ अग्रसर

काठमाडौँ: भोजपुर जिल्लाको हतुवागढी गाउँपालिकाका किसानहरू व्यावसायिक कफीखेतीमा सक्रिय भएका छन्। यसअघि सामान्य रूपमा कफी खेती गर्दै आएका यी किसानहरूले उत्पादनलाई बाह्य बजारसम्म पुर्याउन थालेपछि व्यावसायिक रूपमा कफीखेती विस्तार गरेका हुन्। सिन्द्राङ, होम्ताङ, लुङ्गिन, लुम्थुङ लगायतका क्षेत्रका किसानहरूले उत्पादन गरेको अर्गानिक कफी धरान, इटहरी, विराटनगर हुँदै काठमाडौँ तथा जापान र कोरिया जस्ता अन्तर्राष्ट्रिय बजारसम्म निर्यात भइरहेको छ।
यस वर्ष करिब पाँच हजार किलोग्राम कफीको कच्चापदार्थ निर्यात भएको छ। स्थानीय किसानहरूले घरबाटै प्रतिकिलो रु एक सयमा कफी बिक्री गर्दै आएका छन्, जबकि प्रशोधित कफी सहरका बजारमा प्रतिकिलो रु पाँच सयमा बिक्री हुन्छ। करिब दुई सय किसानहरू कफीखेतीमा संलग्न छन्। हतुवागढी क्षेत्र कफी खेतीका लागि उपयुक्त मानिएकाले गाउँपालिकाले प्रदेश सरकारसँगको सहकार्यमा व्यावसायिक कफीखेती विस्तारका लागि प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ।