Online News Portal

“विपिन जोशीको रिहाइका लागि सभामुखले अरब संसदका अध्यक्षलाई पत्र लेखे”

काठमाडौं: हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि सभामुख देवराज घिमिरेले विशेष पहल गरेका छन्। सभामुख घिमिरेले शुक्रबार अरब संसदका अध्यक्ष मोहम्मद अहमद अल–यमाहीलाई पत्र लेख्दै विपिन जोशीको सकुशल रिहाइका लागि अनुरोध गरेका हुन्।

सभामुख घिमिरेले पत्रमा उल्लेख गरेका छन्, “नेपाल र अरब लिगबीचको सौहार्दपूर्ण सम्बन्धलाई ध्यानमा राख्दै म तपाईंलाई अक्टोबर ७, २०२३ देखि हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको यथाशीघ्र रिहाइका लागि पहल र सहयोग गर्न अनुरोध गर्दछु।”

नेपाल र अरब लिगबीचको सम्बन्धलाई थप मजबुत बनाउन आवश्यक रहेको बताउँदै, सभामुख घिमिरेले विपिन जोशीलाई सकुशल स्वदेश फर्काउन अरब लिगले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्। पत्रमा उनले नेपाल सरकारले हालै इजरायल र हमासबीच भएको युद्धविराम तथा बन्दी आदान–प्रदान सम्झौतासम्बन्धी सकारात्मक दृष्टिकोण लिएको कुरा पनि स्मरण गराएका छन्।

कूटनीतिक पहल जारी

२०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि जोशीलाई बन्दी बनाएको थियो। उनको रिहाइका लागि नेपाल सरकारले विभिन्न कूटनीतिक पहल गरिरहेको छ। नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासले समेत सभामुखसँगको भेटमा विपिनको रिहाइका लागि संसदीय कूटनीति प्रयोग गर्न सकिने सुझाव दिएका थिए।

सभामुख घिमिरेले नेपाल सार्क, बिमस्टेक जस्ता क्षेत्रीय तथा उपक्षेत्रीय संरचनाहरूमा सक्रिय रूपमा सहभागी हुँदै आएको स्मरण गराउँदै नेपाल र अरब लिगबीच थप सहकार्य आवश्यक रहेको औंल्याएका छन्।

उनको अपिलसँगै विपिन जोशीको सकुशल उद्धारका लागि कूटनीतिक तहमा थप पहल हुने अपेक्षा गरिएको छ।

Advertisement

Click the button below to skip this ad and read the full article.