Online News Portal

गाँजा गणतन्त्र’ नबनोस्

काठमाडौँ : सर्वोच्च अदालतबाट अग्राधिकार पाएको सार्वजनिक सरोकारसँग सम्बन्धित गाँजा सम्बन्धी मुद्दाको सुनुवाइ छिटो हुन पर्ने माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ । नेपाल फार्म व्यवसायी संघ र जय देश जय चरेस समूहले शनिबार भद्रकालीमा प्रदर्शन गरेको हो ।

पुरातात्विक र ऐतिहासिक तथ्यअनुसार गाँजाको प्रयोग सबैभन्दा पहिला चीनमा ४००० ईसापूर्वमा नै गरिन्थ्यो भनिएको छ। हिन्दू धर्मग्रन्थ अथर्व वेदमा गाँजालाई ‘खुशीको स्रोत, आनन्द दिने, मुक्ति दिने, डर भगाउने र चिन्ताबाट मुक्त गर्ने’ वस्तुका रूपमा सम्बोधन गरिएको पाइन्छ। यसरी परापूर्वकालदेखि आजसम्म पनि हाम्रो समाजमा गाँजाको प्रयोग व्यापक रूपमा हुँदै आएको सत्य हो। यसलाई शक्तिवर्धक पदार्थका रूपमा प्रयोग गर्नुका साथै पेटको रोग, जिउमा भएका चोटपटक र घाउहरू निको पार्ने, दुखाइ कम गर्ने, निद्रालाई प्रोत्साहन गर्ने र चिन्ता-बेचैनी घटाउने औषधिका रूपमा पनि प्रयोग गरिन्छ।

दम, घाँटीको रोग, अमन हुने, आउँ, झाडापखाला र हैँजामासमेत गाँजाको औषधीय प्रयोग हुन्छ। घरपालुवा जनावरहरूमा देखिने पेटसम्बन्धी रोगहरूमा पनि यसले लाभ दिन्छ। नेपाली भान्साहरूमा गाँजाको बीउलाई भुटेर पिसेपछि ट्वाक्कको चोपिलो अचार बनाउने चलन पुरानै हो। गाँजालाई चाडपर्वहरूमा मनोरञ्जनका लागि पनि प्रयोग गरिन्छ भन्ने कुरा शिवरात्री र फागुपूर्णिमा (होली)मा गरिने यसको उपयोगले पुष्टि गर्छ। यसका साथै गाँजाको बोटमा पाइने रेसाहरूबाट पनि विभिन्न लुगाहरू बनाइन्छन्। तसर्थ, नेपालमा सांस्कृतिक र सामाजिक महत्व बोक्ने वनस्पतिका रूपमा गाँजाको महत्व छ।