बाढीले पुल बगाउँदा अवरुद्ध बनेको बेंसीसहर

काठमाडौँ:लमजुङ- बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाले यस सडकअन्तर्गत चामे गाउँपालिका-१ स्थित तिमाङ खोलाको काठेपुल बगाएपछि सडक अवरुद्ध भएको डुम्रे-बेँसीसहर-चामे सडक आयोजना कार्यालयका सूचना अधिकारी किरण पोखरेलले बताए ।
सूचना अधिकारी पोखरेलका अनुसार पुल बगाएको स्थानमा नयाँ काठेपुल बुधबारसम्ममा राखिने छ ।
पानीको सतह कम भएपछि काठेपुल राखेर सवारी सञ्चालनमा ल्याउने कार्यालयले जनाएको छ । विसं २०७८ असार महिनामा आएको बाढीले बेलिब्रिज बगाएपछि तिमाङखोलामा काठेपुल राखेर सवारी सञ्चालन हुँदै आएको थियो ।
त्यस्तै, दुई वर्षअघि मात्र सो स्थानमा पक्की मोटरेवल पुल निर्माण गरेर सञ्चालनमा आएको थियो । डुम्रे–बेँसीसहर–चामे योजना कार्यालयका अनुसार ठूलो छहरामा स्ल्याब कल्भर्ट पुल १९ लाख ९४ हजार तीन सय ७२ रुपैयाँ र सानो छहरामा स्ल्याब कल्भर्ट पुल एघार लाख ८५ हजार पाँच सय ३९ रुपैयाँ ५१ पैसा लगानीमा निर्माण गरिएको थियो ।