Online News Portal

सफा हिमाल अभियान—२०२४ः ११ टन फोहोर, ४ वटा मानव शव र एक अस्थिपञ्जर संकलन

काठमाडौँ : सफा हिमाल अभियान—२०२४ अन्तर्गत ११ टन फोहोर, ४ वटा मानव शव र एक अस्थिपञ्जर संकलन गरिएको छ ।

बुधवार नेपाली सेनाले काठमाडौंमा समापन समारोहको आयोजना गर्दै यसबारेमा जानकारी गराएको हो । समापन समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति प्रभुराम शर्माले प्रतिकुल मौसम तथा विषम परिस्थितिका बाबजुत यस अभियानको दौरान करिव ११ टन फोहोर, साथसाथै बेवारिसे अवस्थामा रहेका ४ वटा मानव शव र १ अस्थिपञ्जर संकलन गरिएको बताउनु भयो । उहाँले ५५ दिनसम्म सञ्चालित अभियानमा अभियानमा कति मात्रामा फोहोर संकलन भयो भन्नेकुराले मात्र अभियानको महत्व उजागर गर्न नसक्ने बताउनु भयो । उहाँले अभियानको सञ्चालनपूर्व र सञ्चालनपश्चात भएका केही उपलब्धीहरुले अन्तर्राष्ट्रिय रुपमा नेपाली जनताले प्रकृति तथा पर्यावरण संरक्षण सम्बन्धमा जनाएको प्रतिवद्धताप्रति पनि इंगित गरेको बताउनु भयो ।
प्रधानसेनापति प्रभुराम शर्माले भन्नुभयो, ‘प्रतिकुल मौसम तथा विषम परिस्थितिका बाबजुत यस अभियानको दौरान करिव ११ टन फोहोर, साथसाथै बेवारिसे अवस्थामा रहेका ४ वटा मानव शव र १ अस्थिपञ्जर संकलन गरिएको छ । जुन आफैँमा एक उपलब्धिमुलक र हामीले दिएको र हामीले लिएका लक्ष्य र लक्ष्यअनुरुप आफ्नो काम पूरा गर्न देखाउनुभएको तत्परता मिसन हो । यद्यपी मैले फ्ल्याग अफ सेरोमनिमा भनेको जस्तो फोहोर संकलनको तथ्यांक यसको एउटा मानक मात्रै हो । त्यस भन्दा बढी यस अभियानको प्रतिकात्मक विम्वको रुपमा यसको अर्थ वृहत रहेको हुन्छ । करिव ५५ दिनसम्म सञ्चालित यस अभियानमा कति मात्रामा फोहोर संकलन भयो भन्नेकुराले मात्र यो अभियानको महत्व पक्कैपनि उजागर गर्दैन । यसले त शुरुवात मात्रै गरेको हो । यस अभियानको सञ्चालनपूर्व र सञ्चालनपश्चात भएका केही उपलब्धीहरुले अन्तर्राष्ट्रिय रुपमा हामी नेपाली जनताले प्रकृति तथा पर्यावरण संरक्षण सम्बन्धमा जनाएको प्रतिवद्धताप्रति पनि इंगित गरेको छ । जुन हामी सम्पूर्ण नेपालीहरुको लागि गर्वको विषय हो ।’

प्रधानसेनापति शर्माले झन्डै एक लाद फौज भएको देशले १० हजार फौजलाई वातावरण संरक्षणमा प्रयोग गर्नु उदाहरणीय काम भएको बताउनु भयो । उहाँले प्रकृतिक संरक्षण कार्यमा सेना खटाउने कुरा बिरलै देशमा मात्रै हुने गरेको बताउनु भयो । सफा हिमाल अभियानले आवश्यक पर्दा उच्च हिमाली क्षेत्रमा हुनसक्ने विपद् तथा अन्य अवस्थामा परिचालन हुनुपरे नेपाली सेनालाई तालिम पनि दिएको बताउनु भयो । सफाई अभियान सञ्चलन गर्नु जटिल, चुनौतिपूर्ण र शाहसिक कार्य भएको बताउनु भयो । प्रधानसेनापति शर्माले धेरैजसो हिमालहरु अहिले पग्लिने चरणमा रहेको बताउनु भयो । नेपाली सेनाले चैत्र २९ गतेदेखि अभियानको शुरुवात गरेको थियो ।