Online News Portal

सुप्रिम सहकारी ठगी: रवि–छविको मुद्दा फेरि सुनुवाइमा

प्रकाशित: १२ मंसिर २०८२, बिहीबार ०६:३२ | लेखक: मालिका खबर

भैरहवा : रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीमा भएको ठगी र संगठित अपराधको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले नयाँ पेशी तोकेको छ।
यो मुद्दा न्यायाधीश मिलन कुमार राई र सानु मैया डंगोलको इजलासमा सुनुवाइ हुने भएको छ।

यसअघि मंसिर ४ गते लामिछानेका कानुन व्यवसायीले स्थगितको निवेदन दिएपछि सुनुवाइ रोकिएको थियो। अब दुवैको मुद्दा एकैसाथ फेरि अघि बढ्नेछ।

अभियोगपत्रअनुसार लामिछानेसहितका प्रतिवादीले सुप्रिम सहकारीको १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक रूपमा बिगो पारेको दाबी गरिएको छ।
चार भागमा बाँडिएको बिगोमध्ये लामिछानेको हिस्सामा पर्ने २ करोड ७४ लाख ८४ हजार रुपैयाँ उनले बैंक जमानतमार्फत बुझाए पनि जिल्ला अदालत रुपन्देहीले रिहा गर्न नमानेको थियो।

छविलाल जोशीले पनि भागअनुसारको रकम जमानत रूपमा बुझाए तर दुवैलाई छुट दिने निर्णय हुन सकेन। अदालतले ‘भागको ठ्याक्कै कति बिगो पर्छ भन्ने स्पष्ट स्थापित नभएकाले’ थुनामै राख्नुपर्ने आदेश दिएको थियो।

थुनाबाहिर बसेर मुद्दा लड्न पाउने मागसहित दुवैले उच्च अदालतमा निवेदन दिएका छन्। हाल लामिछाने नख्खु कारागारमा छन् भने जोशी भैरहवा कारागारमा रहेका छन्।