Online News Portal

सावधान ! घोप्टेभीरमा दैनिक ५ घण्टा सडक बन्द

प्रकाशित: ६ मंसिर २०८३, शनिबार ०५:२३ | लेखक: मालिका खबर

चितवन । नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको घोप्टेभीरमा आजदेखि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको छ।

घोप्टेभीर क्षेत्रमा लगातार सुक्खा पहिरो खस्न थालेपछि सडक सुरक्षालाई ध्यानमा राख्दै पहिरो व्यवस्थापनको काम अघि बढाउन लागिएको हो। पहिरोका कारण सवारी आवागमन प्रभावित हुनुका साथै मानवीय क्षतिसमेत भएपछि जोखिम न्यूनीकरणका लागि सडक बन्द गरेर पहिरो पन्छाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।

कार्यालयले बिहीबार सार्वजनिक गरेको सूचनाअनुसार अर्को सूचना जारी नभएसम्म दैनिक बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडक पूर्ण रूपमा बन्द रहनेछ।

उक्त अवधिमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक लगाइने प्रशासनले जनाएको छ।

सडक बन्द गरेर पहिरो हटाउने तथा जोखिम न्यूनीकरणको काम गरिने भएकाले यस सडकखण्ड हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई समय मिलाएर यात्रा गर्न आग्रह गरिएको छ।