Online News Portal

सहकारी छानविन प्रतिवेदनहरु उपलब्ध गराउन संवद्ध पक्षलाई संसदीय छानविन विशेष समितिको आग्रह

काठमाडौँ” सहकारी वचत रकम दुरुपयोग संसदीय छानविन विशेष समितिले सहकारी छानविनसँग सम्बन्धित प्रतिवदेनहरु उपलब्ध गराउन संवद्ध पक्षलाई आग्रह गरेको छ ।

.
शुक्रवार सिंहदरबारमा बसेको विशेष समितिको दोस्रो बैठकले सहकारी छानविनका लागि विगतमा गठित समिति तथा जाँचबुझ आयोगहरुको प्रतिवेदन तत्काल उपलब्ध गराउन संवद्ध पक्षलाई आग्रह गर्ने निर्णय गरेको हो । सहकारी छानविनको सम्बन्धमा विगतमा बनेका सबै छानविन समिति र जाँचबुझ आयोगहरुको प्रतिवेदन उपलब्ध गराउनका लागि सम्वद्ध सबै पक्षलाई असार २ गते भित्र उपलब्ध गराउन पत्राचार गर्ने निर्णय पनि गरिएको विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो । बैठकमा विशेष समितिको कार्यविधिको मस्यौदा पनि छलफल शुरु गरिएको छ । त्यसलाई अन्तिम रुप दिनुअघि कार्यादेशबारे स्पष्ट हुनका लागि कार्यदलका संयोजक र सदस्यहरुसँग पनि छलफल गर्ने निर्णय गर्दै त्यसका लागि असार २ गते बैठक बस्ने निर्णय पनि गरिएको सभापति थापाले बताउनु भयो । बैठकमा सचिवालय तयार पारेको प्रस्तावमा पनि सदस्यहरुले अध्ययन गरी आगामी असार २ गते बस्ने बैठकमा लिखित रुपमा सुझाव दिने सहमति भएको छ । कार्यविधि नै विशेष समितिले आफ्नो काम गर्ने मुख्य आधार भएकाले त्यसलाई गहन छलफल गरेर नै अन्तिम टुंगो लगाउन उपयुक्त हुने सहमती पनि बैठकले गरेको विशेष समितिले जनाएको छ ।
सभापति थापाले भन्नुभयो, ‘पहिलो बैठकबाटै हामीले सचिवालयमार्फत विशेष समितिको कार्यविधि मस्यौदा गरेर ल्याउनका निम्ति सचिवालयलाई निर्देशन गरेका थियौँ । उहाँहरुले आज सचिवालयको तर्फबाट मस्यौदा प्रश्ताव ल्याउनुभएको छ । यो मस्यौदालाई समितिका सबै माननीयज्युहरुले सचिवालयले राम्रो मेहनत गरेर ल्याएको भनेर प्रशंशा गर्नुभएको छ, धन्यवाद दिनुभएको छ । यो समितिका सचिवालयले बाचन गरेर प्रश्तुत पनि गर्नुभयो । र हामीले एकसरो बैठकमा छलफल ग¥यांै । र यसमा थप अध्ययन गर्ने, प्रश्तावित विषयहरुमा केही थप्नुपर्ने, केही अझ व्यवस्थित गर्नुपर्ने भयो भने त्यो पनि गर्ने हाम्रो समझदारी भएको छ । र हामीले कार्यादेशका सन्दर्भमा पनि खास गरेर कार्यादेश निर्माण गर्ने एउटा कार्य दल नै थियो । माननीय कानूनमन्त्रीज्युको संयोजकत्वमा । कार्यादेशमा कार्य दलका संयोजक, सदस्यहरु र विशेष आमन्त्रित सदस्यहरुसहित हस्ताक्षर भएको छ । यसको बुझाईमा एकरुपता भयो भने कार्य विधिलाई अझ व्यवस्थित गर्न सकिन्छ भन्ने हामीले छलफल गरेका छौ । र यसमा हामीले साझा धारणाका साथ अर्को बैठकमा यसलाई व्यवस्थित अध्ययन गर्ने, सुझावहरु लिखित रुपमा ल्याउने र कार्य दलका सदस्यहरुसहित कार्यदलका संयोजक र सदस्यहरु जो जसले हस्ताक्षर गरेर टुंग्याउनुभएको थियो । यसमा बुझाईको एकरुपताको निम्ति र स्पष्टताका निम्ति हामीले उहाँहरुलाई आमन्त्रित गरेर असार २ गते अर्को बैठक गर्ने निर्णय गरेका छौं । हामीले कार्यादेश जे छ, त्यसलाई नै कार्यविधिमा समावेश गरेका छौं । यसमा हाम्रा बीचमा खास छलफल भएको छैन । त्यसको बुझाई के हो त ? लगायत अन्य भनेर अनुसूचिमा पनि छ । ४ वटा बुँदामध्ये अरु बुँदामा पनि लगायत अन्य भन्ने छ । त्यो सबै कुरालाई मध्यनजर गरेर हामीले कार्य दलसँग जुन कार्यादेशमा हस्ताक्षर गर्नुभएको छ । समझदारी गर्नुभएको छ । समझदारीको स्पिरिड बुझ्न, स्पष्ट हुन हामीले त्यो बैठक जरुरी महशुस गरेका छौ । र हामीले त्यसकै निम्ति कार्य दलमा कार्यादेशमा हस्ताक्षरकर्ता माननीयज्युहरुसहित अर्को बैठक गर्ने टुंगो गरेका हौँ । यसमा हामीले अर्को महत्वपूर्ण निर्णय गरेका छौं । सहकारी सन्दर्भमा यो नवौं छानविन समिति हो । बाँकि ८ वटा छानविन समिति, जाँचबुझ आयोग, यस अघि बनेका छन । नेपालमा सहकारीलाई संस्थागत गर्ने सन्दर्भमा जति पनि छानविन समिति, अध्ययन, जाँचबुझ समितिहरु बनेका छन् । ती सबैका प्रतिवेदनहरु सचिवालयमार्फत पत्रचार गरेर प्राप्त गरिसक्ने, त्यसका निम्ति कार्यविधि चाहिएन । हामीले त्यो निर्णय चाहीँ अर्को बैठकसम्ममा सचिवालयलाई त्यो जिम्मेवारी सुम्पेका छौं । सहकारीसँग सम्बन्धित सबै आवश्यक त्यस्ता दस्ताबेज, डकुमेण्ट, प्रतिवेदनहरु उपलब्ध गराउन पनि म समितिको तर्फबाट संवद्ध सबैसँग विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु । हामीले त्यो चाहीँ लिटरेचर रिभ्युको निम्ति, यो विषयको बुझाईका निम्ति पनि जरुरी छ भन्ने ठानेका छौं । यो काम हामीले यस बीचमा गर्नेछौं । हाम्रो काम रोकिन्न । काम अर्को बैठक पछि गर्ने भन्ने हुन्न । हामीले सचिवालयमा यो काम पनि सँगसँगै अघि बढाउने छौं । त्यतिन्जेलसम्म चाहीँ संसदको यो खासगरी बजेटसँग सम्बन्धित छलफल लगायतका विषय पनि अलि घनिभुत रहेको, माननीयज्युहरुले त्यहाँ पनि समय दिनुपर्ने अवस्था रहेको कारणले हामीले यो दस्ताबेज, प्रतिवेदनहरु संकलनलाई पनि जोड गरेका छौं । र यस बीचमा हामी कार्यविधिमा पनि धेरै महत्वपूर्ण कुराहरु छन् । यसमा प्रमाण कसरी संकलन गर्नेदेखि धेरै विषयमा आएका छन् । जुन कुरा हामीले कार्यविधि बनाउँदा छोटो समय भयो भनेर समय पगेन भन्ने गुनासो नरहोस् । किनभने कार्यविधि हाम्रो कामको बेस हो, आधार हो । त्यसो हुनाले पनि हामीले स्पष्टताका साथ, अध्ययनका साथ, एकरुकता बुझाईका साथ छलफलका साथ कार्यदलको कामलाई कार्यविधिमार्फत व्यवस्थित गर्नका निम्ति यो गरेका छौं । यसमा अहिले प्रतिवेदनतिर ग्यारेन्टी नगरौं । प्रतिवेदन आईहाल्छ । हाम्रो विशेष समिति भित्र समय तीन महिना भित्रै काम सक्नुपर्छ भन्नेमा सबै एकमत छौं । यसमा सबैको एउटै धारणा छ । र हामीले यहाँ त्यसका निम्ति भदौको चौथो हप्तासम्मको कार्यतालिका पनि हामीले यो कार्यविधिसँगै समावेश गर्नेगरी यसको व्यवस्थित खाका छलफलका, सूचना संकलनका, प्रमाण संकलनका यी विषयहरुलाई समेट्ने गरी हामीले बनाएका छौं । अहिले हामीले अर्को बैठक जुन राखेका छौं । त्यो कार्यतालिका भित्रै छ । कार्यतालिका जुन प्रश्तावित गरेका छौ, त्यसैको सीमाभित्र रहेर यो गरिराखेका छौं ।’
समितिको यसअघि बसेको बैठकले सचिवालयलाई कार्यविधिका लागि मस्यौता पेश गर्न निर्देशन दिएको थियो । सोही अनुसार आजको बैठक कार्यविधि पेश भएको र त्यसमा छलफल पनि शुरु गरिएको विशेष समितिले जनाएको छ । सभापति थापाले प्रश्तावित कार्यविधिमा कार्यतालिका पनि समावेश गरिएको र तोकिएकै समितिमा आफ्नो काम सम्पन्न गर्ने गरी समितिले आफ्नो कामलाई अघि बढाउने पनि बताउनु भयो ।