Online News Portal

क्लब विश्वकपमा अल–हिलालसँग ४–३ ले पराजित, साविक विजेता म्यानचेस्टर सिटी नकआउट चरणमै बाहिरियो

प्रकाशित: १७ असार २०८२, मंगलवार ०६:४१ | लेखक: मालिका खबर

साविक विजेता म्यानचेस्टर सिटी क्लब विश्वकपको नकआउट चरणमै साउदी क्लब अल–हिलालसँग ४–३ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

मंगलबार बिहान भएको खेलमा निर्धारित ९० मिनेटमा २–२ को बराबरीपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा अल–हिलालले दुई गोल गर्दा सिटीले एकमात्र गोल गर्न सक्यो।

खेलमा सिटीले सुरुवाती अग्रता बनाएको थियो। ७औं मिनेटमा कप्तान बर्नार्डो सिल्भाले गोल गरेका थिए भने अल–हिलालका मार्कोस लियोनार्डोले दोस्रो हाफ सुरु भएपछि बराबरी गोल फर्काए। ५२औं मिनेटमा माल्कमले गोल गर्दै अल–हिलाललाई अग्रता दिलाए पनि एर्लिङ हालान्डले तुरुन्तै गोल फर्काउँदै खेल बराबरीमा ल्याएका थिए।

अतिरिक्त समयमा कालिडो कोउलिबाली र मार्कोस लियोनार्डोका गोलले अल–हिलाललाई ४–३ को जित दिलायो। फिल फोडेनले एक गोल गर्दै सिटीका लागि आशा जगाए पनि अन्तिमतिरको गोलले सिटीलाई बाहिरिएको पुष्टि गर्‍यो।

अब अल–हिलालले क्वार्टरफाइनलमा ब्राजिलियन क्लब फ्लुमिनेन्ससँग प्रतिस्पर्धा गर्नेछ।