संसदीय मर्यादामाथि प्रश्न : प्रधानमन्त्री बालेन फेरि बोल्नबाट पन्छिए
काठमाडौं : सङ्घीय संसदमा प्रस्तुत सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेन शाह स्वयंले नदिने निर्णय गरेपछि उनको कार्यशैलीमाथि फेरि आलोचना सुरु भएको छ।

संसद् सचिवालयले प्रारम्भिक कार्यसूचीमा प्रधानमन्त्रीले सांसदहरूको जिज्ञासाको जवाफ दिने उल्लेख गरेको भए पनि अन्तिम समयमा उनको स्थानमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई अगाडि सारिएको हो। अब केहीबेरमा बस्ने प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री वाग्लेले सरकारको तर्फबाट सांसदका प्रश्नको सम्बोधन गर्ने तय भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू तथा अर्थमन्त्रीको सचिवालयले प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीमार्फत पूरा गरिने पुष्टि गरेका छन्। तर संसदीय अभ्यासअनुसार सरकारको नीति तथा कार्यक्रममाथिको बहसमा प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफ दिनु राजनीतिक उत्तरदायित्व र मर्यादाको विषय मानिन्छ।
प्रधानमन्त्री बालेन शाहले भने लगातार संसद् छल्ने शैली अपनाएको भन्दै विपक्षी दलहरू असन्तुष्ट देखिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेल ले वैशाख २८ गते आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बीचमै बैठक छाडेर बाहिरिएको घटनाले पनि संसद्मा व्यापक आलोचना खेप्नुपरेको थियो।
प्रतिपक्षी सांसदहरूले संसद्को गरिमामाथि प्रश्न उठ्ने गरी प्रधानमन्त्रीले जिम्मेवारीबाट पन्छिन खोजेको आरोप लगाउँदै आएका छन्। पहिलो अधिवेशनदेखि हालसम्म संसद्मा एक शब्द पनि नबोलेका प्रधानमन्त्रीले आजको महत्त्वपूर्ण छलफलमा समेत मौन बस्ने निर्णय गरेपछि उनको नेतृत्व क्षमता र संसदीय संस्कृतिप्रतिको प्रतिबद्धतामाथि थप प्रश्न उठेको छ।
आजको प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ। त्यसपछि सांसदहरूले दर्ता गराएका संशोधनहरू निर्णयार्थ पेश गरिने र आजै नीति तथा कार्यक्रम पारित गर्ने तयारी संसद् सचिवालयले गरेको छ।