Online News Portal

वरिष्ठ साहित्यकार र प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष विजय चालिसेको निधन

प्रकाशित: १७ जेष्ठ २०८२, शुक्रबार ०६:३० | लेखक: मालिका खबर

काठमाडौँ : वरिष्ठ साहित्यकार, पत्रकार तथा प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष विजय चालिसेको ७४ वर्षको उमेरमा निधन भएको छ। उनको निधन आज बिहान ९:३० बजे भएको हो। उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो र आजै गोकर्णेश्वर घाटमा अन्त्येष्टि गरिनेछ।

 

 

विजय चालिसे नेपाली साहित्य र पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय थिए। उनले गोरखापत्र दैनिकमा उपसम्पादक र सम्पादकको रूपमा कार्य गरे। उनको साहित्यिक यात्रा स्कुले जीवनदेखि नै सुरु भएको थियो, र उनले कविता, कथा, उपन्यास, निबन्ध, बालसाहित्य, नियात्रा, संस्मरण लगायत विभिन्न विधामा ५० भन्दा बढी कृति प्रकाशित गरेका छन्। उनका प्रमुख कृतिहरूमा ‘होटेल राँकीमा हत्या’, ‘अनि कुहिरो फाट्छ’, ‘त्रिविध’, ‘अग्निचक्र’, ‘सर्पदंशित मेरो वर्तमान’, ‘परिशीलन’, ‘मरुभूमिको फूल’, ‘युगसन्धि’ र आत्मसंस्मरण ‘जीवनका वक्ररेखा’ उल्लेखनीय छन्।

चालिसेले नेपाली साहित्य र पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका छन्। उनले प्रेस चौतारी नेपालको स्थापना २०५५ सालमा गरेका थिए, जुन प्रगतिशील पत्रकारहरूको साझा संगठन हो। उनको निधनले नेपाली साहित्य र पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।