Online News Portal

वनमन्त्री शाही: जलवायु परिवर्तनले नेपालको जनजीवनमा गम्भीर प्रभाव पारेको छ

प्रकाशित: ३० फाल्गुन २०८१, शुक्रबार ०७:३१ | लेखक: मालिका खबर

काठमाडौँ : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनले नेपालको विभिन्न भौगोलिक क्षेत्रमा बसोबास गर्ने जनताको जीवनमा गम्भीर असर पारेको बताएका छन्।

 

फागुन २९ गते बेलायतमा आयोजित ‘जल सुरक्षा, जलवायु, प्रकृति र विकासको अन्तरसम्बन्धमा मन्त्रिस्तरीय गोलमेच’ कार्यक्रममा नेपालको तर्फबाट मन्तव्य दिँदै उनले नेपालको पारिस्थितिकी तन्त्र र जीविकोपार्जनमा जलवायु परिवर्तनले ल्याएका चुनौतीहरूको सामना गर्न सरकारले लिएका पहलहरूबारे प्रकाश पारे। साथै, उनले नेपालले आयोजना गर्न लागेको सगरमाथा संवाद २०२५ बारे पनि जानकारी गराए।

कार्यक्रमपछि मन्त्री शाही बेलायती राजा चार्ल्स तृतीयद्वारा आयोजित जल र जलवायु स्वागत समारोहमा समेत सहभागी भए। उक्त कार्यक्रममा जलवायु परिवर्तन र जल असुरक्षाबाट प्रभावित विभिन्न देशका मन्त्रीहरू, जलवायु परिवर्तन र प्रकृति विज्ञहरू तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।