रास्वपाले विधानमै राख्ने भयो ‘वरिष्ठ नेता’ पद, केन्द्रीय समिति र पदाधिकारी संख्या पनि बढाइने
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीभित्र ‘वरिष्ठ नेता’ पदलाई औपचारिक रूपमा विधानमा समावेश गर्ने निर्णय गरेको छ। बिहीबार केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले उक्त पदलाई पार्टी संरचनाको स्थायी हिस्सा बनाउने निर्णय गरेको हो।

रास्वपाले २०७९ सालको निर्वाचनअघि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहसँग एकताको प्रयासका क्रममा सभापति रवि लामिछानेपछि दोस्रो वरीयतामा रहने गरी ‘वरिष्ठ नेता’ पद सिर्जना गरेको थियो। अब पार्टीको पहिलो महाधिवेशनको तयारी भइरहेका बेला उक्त पदलाई विधानमै व्यवस्था गर्ने निर्णय गरिएको हो।
यसअघि सहमहामन्त्री विपिन आचार्यको संयोजकत्वमा गठित विधान संशोधन समितिले भने वरिष्ठ नेता पद राख्ने प्रस्ताव गरेको थिएन। समितिले त्यसबारे अन्तिम निर्णय पार्टी नेतृत्वले गर्ने उल्लेख गरेको थियो।
बैठकले पार्टीको केन्द्रीय समितिको आकार पनि विस्तार गर्ने निर्णय गरेको छ। हाल १२१ सदस्यीय रहेको केन्द्रीय समितिलाई बढाएर १५८ सदस्यीय बनाइने भएको छ। जबकि विधान संशोधन समितिले १३६ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरेको थियो।
त्यसैगरी, रास्वपाले पदाधिकारीको संख्या पनि बढाउने निर्णय गरेको छ। अब पार्टीमा १९ सदस्यीय पदाधिकारी संरचना रहनेछ। नयाँ संरचनाअनुसार एक सभापति, एक वरिष्ठ नेता, तीन उपसभापति (कम्तीमा एक महिला), दुई महामन्त्री, पाँच सहमहामन्त्री (कम्तीमा एक महिला), एक प्रवक्ता, तीन सहप्रवक्ता (कम्तीमा एक महिला), एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष (कम्तीमा एक महिला) रहने व्यवस्था गरिनेछ।
रास्वपाले आगामी महाधिवेशनलाई लक्षित गर्दै संगठन विस्तार र नेतृत्व संरचनालाई थप व्यवस्थित बनाउने उद्देश्यले यी निर्णयहरू गरेको जनाएको छ।