Online News Portal

महाशिवरात्रिमा पशुपति क्षेत्रमा मासु र मदिरा निषेध, साधुसन्तका लागि आवास सुविधा

प्रकाशित: १२ फाल्गुन २०८१, सोमबार ०३:५५ | लेखक: मालिका खबर

काठमाडौँ: काठमाडौं जिल्ला प्रशासन कार्यालयले महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्र र वरपरका क्षेत्रमा मासु, मदिरा र अन्य नसालु पदार्थहरूको उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवनमा प्रतिबन्ध लगाएको छ। यो प्रतिबन्ध फागुन १२ देखि फागुन १५ सम्म लागू हुनेछ। यसको उल्लंघन गर्नेहरूलाई कानुनी कारबाही गरिने चेतावनी पनि दिइएको छ।

यसैबीच, गुठी संस्थानले महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा आउने साधुसन्तहरूको लागि आवासीय सुविधा प्रदान गर्ने भएको छ। सोमबारदेखि साधुसन्तहरूको गणना सुरु गरी बसोबास, भोजन र धुनी जगाउन दाउराको व्यवस्था गरिनेछ। फागुन कृष्ण औँसीका दिन साधुसन्तहरूलाई दक्षिणासहित बिदाई गर्ने परम्परा पनि रहेको छ। यस वर्ष भारतको प्रयागराजमा जारी कुम्भ मेलाका कारण त्यहाँ स्नान गरी भक्तजनहरू पशुपतिनाथमा पनि बढी आउने अनुमान गरिएको छ।