बुद्धचित्त माला व्यवसायी लुटपाट प्रकरणका फरार अभियुक्त दुतराज तामाङ पक्राउ
काठमाडौं : बुद्धचित्त माला व्यवसायीमाथि लुटपाट तथा आपराधिक गतिविधिमा संलग्न रहेको आरोप लागेका दुतराज तामाङलाई प्रहरीले पक्राउ गरेको छ। अपराध अनुसन्धान कार्यालय (अपराध महाशाखा), टेकुबाट खटिएको टोलीले उनलाई ललितपुरबाट पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीका अनुसार तामाङ विगत केही वर्षदेखि फरार रहेका थिए। पक्राउपछि उनीमाथि विभिन्न आपराधिक घटनामा संलग्नताको विषयमा थप अनुसन्धान भइरहेको छ।
तामाङ विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन्। उनी यसअघि माओवादी धाराको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मा सक्रिय रहेको बताइन्छ। पछिल्लो राजनीतिक एकीकरणपछि प्रचण्ड र माधवकुमार नेपालको नेतृत्वमा गठन भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँग उनी निकट रहेको बताइन्छ।
प्रहरी स्रोतका अनुसार तामाङमाथि बुद्धचित्त माला व्यवसायीलाई धम्क्याएर लुटपाट गर्ने, आपराधिक समूह सञ्चालन गर्ने तथा गुण्डागर्दीमा संलग्न रहेको आरोप छ। उनी २०७२ सालको चर्चित सुन लुटपाट प्रकरणमा समेत अनुसन्धानको दायरामा रहेका व्यक्ति भएको प्रहरीले जनाएको छ।
यस्तै, सिन्धुलीको फिक्कल क्षेत्रमा बुद्धचित्त माला व्यवसायीमाथि भएको लुटपाट घटनामा पनि उनको संलग्नता रहेको आशंकामा अनुसन्धान भइरहेको छ। प्रहरीले उनीमाथि विभिन्न कसुरमा अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ।
यस घटनाबारे नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भने हालसम्म कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।