Online News Portal

बाढीले ध्वस्त विद्यालय सञ्चालनमा चौधरी फाउण्डेसनको सहयोग

प्रकाशित: १६ भाद्र २०८३, मंगलवार ०६:२३ | लेखक: मालिका खबर

नुवाकोट, १६ भदौ २०८३। रसुवा बाढीबाट प्रभावित नुवाकोटको त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयलाई तत्काल सञ्चालनमा ल्याउन चौधरी फाउण्डेसनले सहयोग गर्ने भएको छ।

बाढीका कारण विद्यालय भवन ध्वस्त भएपछि प्रभावित विद्यार्थीलाई पुनः विद्यालयमा फर्काउने र उनीहरूमा परेको मनोवैज्ञानिक असर कम गर्दै पठनपाठनलाई निरन्तरता दिने उद्देश्यले फाउण्डेसनले आपत्कालीन सहयोग अघि बढाएको हो।

फाउण्डेसनले विद्यालयमा डिजिटल कक्षाकोठाको अवधारणाअनुसार पठनपाठन सञ्चालन गर्न आवश्यक सामग्री उपलब्ध गराउने भएको छ। जसअन्तर्गत स्मार्ट बोर्ड, डेस्कटप, ल्यापटप, प्रोजेक्टर तथा इन्टरनेटको व्यवस्था गरिनेछ।

त्यसैगरी, कक्षाकोठाका लागि आवश्यक फर्निचर काठमाडौंमा तयारी अवस्थामा रहेका सामग्री विद्यालयसम्म पुर्‍याइनेछ। विद्यार्थीका लागि स्कूल ब्याग तथा स्टेसनरी सामग्रीसमेत उपलब्ध गराउने तयारी गरिएको छ।

विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीका अनुसार तत्काल पठनपाठन सञ्चालन गर्न वैकल्पिक भवनको व्यवस्था गर्न लागिएको छ। उक्त भवनबाट विद्यालय सञ्चालनमा ल्याउन चौधरी फाउण्डेसनले आवश्यक सहयोग गर्नेछ।

त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयमा करिब १ हजार ६ सय विद्यार्थी अध्ययनरत थिए। भदौ १० गते आएको बाढीले विद्यालय भवनमा ठूलो क्षति पुर्‍याउँदै ध्वस्त बनाएको थियो।

चौधरी फाउण्डेसनका अध्यक्ष निर्वाण चौधरीले बाढी प्रभावित बालबालिकालाई मनोवैज्ञानिक असरबाट जोगाउँदै उनीहरूको शिक्षालाई निरन्तरता दिन आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, “हामी जति सक्दो छिटो विद्यालय सञ्चालन गर्न सकियोस् भन्ने चाहन्छौँ। सोहीअनुसार हाम्रा भौतिक एवं शैक्षिक सामग्री विद्यालयलाई हस्तान्तरण गर्नेछौँ।”

विद्यालय सञ्चालनलाई तत्काल अघि बढाउने विषयमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी र विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीबीच भदौ १५ गते छलफल भएको थियो। सोही छलफलअनुसार फाउण्डेसनले विद्यालय सञ्चालनका लागि आवश्यक वातावरण तयार गर्न सहयोग अघि बढाएको हो।

प्रधानाध्यापक दवाडीले चौधरी फाउण्डेसनको सहयोगले बाढी प्रभावित विद्यार्थीको शिक्षामा सकारात्मक प्रभाव पार्ने बताउनुभयो। वैकल्पिक भवनको व्यवस्थापनका लागि प्रक्रिया अघि बढिसकेको भन्दै उहाँले भवन व्यवस्थापन हुनासाथ फाउण्डेसनबाट भौतिक तथा शैक्षिक सामग्री प्राप्त हुने जानकारी दिनुभयो।

उहाँले विद्यालय सञ्चालनका लागि सहयोग गरेकोमा चौधरी फाउण्डेसनप्रति विद्यालय परिवारका तर्फबाट आभार व्यक्त गर्नुभयो।