नेपालमा अखडा जमाएर विदेशी व्यापारी बसेका छन्
काठमाडौँ : सरकारले आयात निर्यातको अवस्था सहज पार्न सकेको छैन । सहज नपार्दा सिजनमा उत्पादन हुने हुम्लाको स्याउ, तराईको आँपलगायतले बजार पाउन सकेको छैन । सरकारको नीतिका कारण स्वदेशी व्यापारी पलायन र विदेशी व्यापारीले जरा गाडेर बसेका छन् । निर्यातभन्दा आयातको अवस्था चिन्ताजनक छ ।
रसियामा व्यापार कसरी सुरुवात गर्नुभयो ?
म नेपालमा इन्जिनियरिङ कलेजको अभावका कारण ईसं १९९८ सालमा रसिया गएको थिएँ । रसियामा नेपालले सहयोग पनि गरेको हुनाले पढ्न जानका लागि सजिलो नै भयो । मैले नेपालमा हुँदा जति बुझेको थिएँ, त्यहाँ गएपछि एकाएक व्यापारिक सम्भावना देखें । देश र समाजको विकासमा व्यापारको सम्भावना देखेपछि मैले व्यापार थालेको हुँ । इसं १९८९ तिर रसियामा राजनीतिक परिवर्तन भएपछि दलीय व्यवस्था आएको हो । पहिले सरकारले एकलौटी रूपमा व्यापार गरिरहेको थियो । राजनीतिक परिवर्तन भइसकेपछि खुला व्यापारको सुरुआत भयो । पहिला सरकारको आफ्नै उद्योग र व्यापार पनि गर्दथ्यो । खुला व्यापार भएपछि व्यापारीहरू विदेश जान पाउने र विदेशबाट पनि व्यापारका लागि आउन पाउने व्यवस्था भयो । रसियामा संसारभरबाट पढ्नका लागि विद्यार्थी गएका थिए । उनीहरूलाई भाषाको ज्ञान भएको हुनाले व्यापार गर्न सजिलो भयो । त्यसमा मैले पनि अवसर पाएँ र व्यापार गरें । म इन्जिनियर पढ्न गएको विद्यार्थी विद्यावारिधिसँगै व्यापार पनि गर्दै अगाडि बढेको हुँ ।
कति नेपालीले रसियामा व्यापार गरेका थिए ?
केही सीमितमात्र नेपालीले व्यपार गर्ने अवसर पाएका थिए । भारतका व्यापारीको भने सिधै रसियासँग सम्बन्ध भएको हुनाले राम्रो व्यापारको अवसर पाएका थिए । विदेशमा कमाएको रकम स्वदेशमा ल्याउन नसकिने भएको हुनाले व्यापार गर्नसक्ने अवस्था नेपालको थिएन । त्यसैले नेपालबाट पढ्न गएका विद्यार्थीले मात्र व्यापार गर्ने अवसरमा सजिलो भएर व्यापार गरेका हुन्। विदेशीहरूले ज्वाइन्ड भेन्चर खोल्न पाउने व्यवस्था थियो । त्यसले गर्दा नेपाली विद्यार्थीले अवसर पाएका थिए । हामीभन्दा अगाडिको पुस्ता अहिले पनि रसियामा व्यापार गरेर बसिरहेको छ।
रसियामा केको व्यापार गर्नुभएको थियो ?
हामीले आयात निर्यातको व्यापार गरेका थियौँ । सिंगापुर, हङकङ, जर्मनीजस्ता मुलुकबाट सामान लगेर होलसेल बजारमा दिने काम गर्ने गरिएको थियो ।
लगानी कसरी जुटाउनुभयो ?
शुरूमा आफैँ गई सामान लिएर आउने गर्दथ्यौँ । विस्तारै पुँजीको विकास गरी व्यापार पनि बढाउँदै लगेका थियौँ । विस्तारै हाम्रो अन्तर्राष्ट्रिय व्यापारीसँग सम्बन्ध हुन थाल्यो र हामीले ठुलो भोलममा व्यापार गरेका थियौँ ।
त्यतिबेला फाइदा धेरै हुन्थ्यो ?
त्यतिबेला सयौँ प्रतिशत फाइदा हुने गर्दथ्यो । धेरै फाइदा हुने भएरै पुँजीको विकास पनि छिटो भएको थियो । डब्बलै फाइदा हुन्थ्यो ।
रसियालीहरू व्यापार गर्न सक्दैन थिए ?
लामो समय एकतन्त्रीय शासन थियो । त्यसले गर्दा विदेशीसँग सम्बन्ध थिएन । व्यवस्था परिवर्तन भएपछि दोस्रो विश्वयुद्धमा हुमिएका थिए । सरकारले व्यापार गर्ने भएको हुनाले नागरिकले कसरी व्यापार गर्ने भन्ने विषय थाहा थिएन । विस्तारै राज्यले व्यापार गर्ने वातावरण दिएपछि उनीहरूले नै व्यापार गरेका थिए । पछि उनीहरू मुख्य देशको व्यक्ति भएको हुनाले हामीलाइ प्रयोग गरेर व्यापार गर्ने गरेका थिए ।
रसियाको व्यापारमा कति वर्ष रहनुभयो ?
मैले १५ वर्षजति रसियामा व्यापार गरें । १२ वर्षसम्म क्रियाशील र ३ वर्षजति सामान्यरूपमा व्यापार गरें । त्यसपछि म नेपालको राजनीतिमा लागें । अनि मैले उताको व्यापार छोडिदिएँ ।
नेपालमा आएर व्यापार गर्नुभएन ?
नेपालमा पनि व्यापार गर्न खोजें । तर नेपालमा म सफल हुन सकिनँ । नेपाल र रसियाको संगठन बनाएर लगानी ल्याउन लागेको थिएँ । तर, पनि सफल भने हुन सकिनँ । संस्था निर्माण भए पनि राज्यको असहयोगका कारण अगाडि बढ्न सकिएन । अहिले पनि रसियासँग कसरी व्यापार गर्न सकिन्छ भनेर कुरा अगाडि बढिरहेको छ ।
रसियामा कुनकुन वस्तु निर्यात गर्न सकिन्छ ?
रसियामा सीमित महिनामात्र मौसम सफा हुन्छ । देशलाई हिउँले ढाकेको हुनाले एक सिजनमात्र अन्न उत्पादन हुन्छ । नेपालमा बाह्रै महिना उत्पादन हुन्छ । हिमाली क्षेत्रमा प्रयोग हुने जुनसुकै वस्तु पठाउन सक्यौँ भने व्यापार राम्रो हुन्छ । चिया, कफी, फापर, अदुवा, जडिबुटीजस्ता वस्तुको व्यापार गर्न सकिन्छ । युक्रेनको क्षेत्रमा केही चामल उत्पादन हुन्छ । अहिले भियतनाम, थाइल्याल्डजस्ता मुलुकबाट चामल आयात भइरहेको छ।