धितोपत्र बोर्ड अध्यक्षका लागि आवेदन आजसम्म, १५ जनाको दाबी
काठमाडौं : पुँजीबजार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि आवेदन दिने म्याद आज सोमबार सकिँदैछ। सिफारिस समितिले आह्वान गरेको आवेदन प्रक्रियामा अन्तिम दिनसम्म १५ जनाले उम्मेदवारी दर्ता गराइसकेका छन्।

सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। समितिमा अर्थसचिव घनश्याम उपाध्याय र नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवनकुमार दाहाल सदस्य छन्।
अर्थ मन्त्रालयअन्तर्गत सिंहदरबारस्थित वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा रहेको समितिको सचिवालयमा इच्छुक व्यक्तिहरूले आवेदन बुझाइरहेका छन्।
कानुनी प्रावधानअनुसार अध्यक्ष बन्नका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण हुनुका साथै पुँजी बजार, धितोपत्र व्यवस्थापन, अर्थ, वित्त, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव अनिवार्य गरिएको छ।