Online News Portal

कांग्रेस–एमाले–नेकपाबीच बढ्यो निकटता, मधेशबाट सुरु हुँदै नयाँ समीकरण

प्रकाशित: ८ जेष्ठ २०८३, शुक्रबार ०६:२१ | लेखक: मालिका खबर

काठमाडौं :  प्रतिनिधिसभा निर्वाचनपछि कमजोर बनेका विपक्षी दलहरू यतिबेला नयाँ राजनीतिक समीकरण निर्माणको प्रयासमा सक्रिय देखिएका छन् । पछिल्ला दिनमा एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुन्डु निवास प्रमुख राजनीतिक भेटघाटको केन्द्र बनेको छ ।

कांग्रेसका महामन्त्री गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा तथा नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेताहरू ओली निवास पुगेर लगातार छलफलमा जुटिरहेका छन् । नेताहरूबीच लोकतन्त्र पक्षधर शक्तिहरूलाई एक ठाउँमा ल्याउने विषयमा गम्भीर संवाद भइरहेको बताइएको छ ।

तीन दलबीचको यही छलफलले मधेश प्रदेशको सत्ता समीकरणमा पनि नयाँ मोड ल्याउने संकेत देखिएको छ । यसअघि मधेश सरकारबाट बाहिरिएको एमाले अब कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्ने तयारीमा पुगेको स्रोतको दाबी छ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले आज विश्वासको मत लिने तयारी गरिरहेका बेला एमाले समर्थनको चर्चा चुलिएको हो ।

राजनीतिक स्रोतका अनुसार कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले एमाले अध्यक्ष ओलीसँग भेट गरेर मधेश सरकारलाई सहयोग गर्न आग्रह गरेका थिए । त्यसपछि एमालेभित्र पनि नयाँ सहकार्यबारे सकारात्मक छलफल सुरु भएको बताइन्छ ।

एमालेका एक नेताले अहिलेको परिस्थिति केवल मन्त्री वा मुख्यमन्त्रीको भागबन्डाको विषय नभएको बताएका छन् । उनका अनुसार संविधान र लोकतन्त्रको पक्षमा रहेका शक्तिहरूबीच सहकार्य अपरिहार्य बन्दै गएको छ । विशेषगरी वामपन्थी शक्तिहरूबीच कार्यगत एकताको आवश्यकता महसुस गरिएको उनको भनाइ छ ।

उता नेपाली कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाश ज्वालाले तत्काल पार्टी एकताको सम्भावना नरहे पनि कार्यगत सहकार्यको ढोका खुला रहेको बताएका छन् । लोकतन्त्र, गणतन्त्र र परिवर्तनका पक्षधर शक्तिहरूबीच सहकार्य स्वाभाविक रहेको उनको भनाइ छ ।

कांग्रेस प्रवक्ता देवराज घिमिरेले पनि अहिलेको अवस्थामा कुनै दलले एक्लै सरकार बनाउन नसक्ने अवस्था रहेको भन्दै बहुदलीय सहकार्य अपरिहार्य बनेको बताएका छन् । प्रदेश सरकारको समीकरणबारे अझै छलफल जारी रहेको उनले जानकारी दिएका छन् ।

तीन दलबीच भइरहेको पछिल्लो संवादमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समेत समेट्ने प्रयास भइरहेको चर्चा छ । लगातार बढिरहेको राजनीतिक भेटघाटले नेपाली राजनीतिमा नयाँ ध्रुवीकरणको संकेत देखिन थालेको विश्लेषण भइरहेको छ ।