इरान युद्धमा अमेरिकालाई ठूलो धक्का, ४२ विमान र ड्रोन ध्वस्त
काठमाडौँ : इरानविरुद्ध सञ्चालन गरिएको ‘अपरेशन एपिक फ्युरी’ अभियानका क्रममा अमेरिकी सेनाले ठूलो हवाई क्षति बेहोरेको खुलासा भएको छ। अमेरिकी संसद् (यूएस कांग्रेस) को प्रतिवेदनअनुसार युद्ध अवधिमा अमेरिकाका ४२ वटा लडाकु विमान तथा ड्रोन पूर्ण रूपमा नष्ट भएका छन्।

रिपोर्टअनुसार ध्वस्त भएका साधनमध्ये ६ वटा अत्याधुनिक लडाकु तथा आक्रमणकारी जेट रहेका छन्। तीमध्ये एउटा एफ–३५, चार वटा एफ–१५ई स्ट्राइक इगल र एउटा ए–१० थन्डरबोल्ट–२ विमान रहेको उल्लेख गरिएको छ।
युद्धका क्रममा अमेरिकाले सबैभन्दा ठूलो क्षति ड्रोनतर्फ व्यहोरेको बताइएको छ। कुल २५ वटा ड्रोन नष्ट भएका छन्, जसमा २४ वटा एमक्यू–९ रिपर र एउटा एमक्यू–४सी ट्राइटन ड्रोन रहेका छन्। यसबाहेक अन्य ११ वटा हवाई साधन पनि ध्वस्त वा गम्भीर रूपमा क्षतिग्रस्त भएको प्रतिवेदनमा उल्लेख छ।
यसअघि अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानविरुद्धको सैन्य कारबाहीमा करिब ३३.७ अर्ब अमेरिकी डलर खर्च भइसकेको जनाएको थियो।
यता, ‘द न्यूयोर्क टाइम्स’ को रिपोर्टलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले अमेरिका र इजरायलको उद्देश्य केवल इरानको परमाणु तथा मिसाइल क्षमता कमजोर बनाउनु मात्र नभई त्यहाँको सत्ता परिवर्तनसमेत रहेको दाबी गरेका छन्।