आज बजेट आउँदै : पाँच वर्षे आर्थिक सुधार योजना सार्वजनिक गर्ने सरकारको तयारी
काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आज नयाँ बजेट सार्वजनिक गर्दैछ । संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिउँसो ४ बजे बजेट प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।

संघीय संसद् सचिवालयका अनुसार सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा बजेट प्रस्तुतिका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ । नेपालको संविधानअनुसार हरेक वर्ष जेठ १५ गते आगामी आर्थिक वर्षको आय–व्यय विवरण सार्वजनिक गर्ने व्यवस्था छ ।
यस वर्षको बजेटलाई सरकारले आर्थिक सुधार र रूपान्तरणको आधार दस्तावेजका रूपमा प्रस्तुत गर्ने तयारी गरेको बताइएको छ । अर्थमन्त्री वाग्लेले बजेटमार्फत आगामी पाँच वर्षसम्म लागू हुने दीर्घकालीन आर्थिक सुधार कार्यक्रम तथा विकास योजनाको स्पष्ट ‘रोडम्याप’ सार्वजनिक गर्ने तयारी गरेका छन् ।
सरकारले उत्पादन वृद्धि, रोजगारी सिर्जना, निजी क्षेत्रको मनोबल उकास्ने नीति तथा सार्वजनिक खर्च व्यवस्थापनलाई प्राथमिकतामा राख्ने संकेत दिएको छ । साथै अर्थतन्त्रलाई चलायमान बनाउन लगानीमैत्री वातावरण निर्माण, पूर्वाधार विकास र वित्तीय अनुशासनका विषयलाई पनि बजेटमा विशेष प्राथमिकता दिइने अपेक्षा गरिएको छ ।
बजेट प्रस्तुतिका क्रममा प्रधानमन्त्री, मन्त्रीहरू, राष्ट्रिय योजना आयोगका पदाधिकारी, नेपाल राष्ट्र बैंकका गभर्नर तथा उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहनेछ ।