Online News Portal

अमरेश सिंहको आरोप — ‘ठूला नेताविरुद्ध बोल्ने स्वतन्त्रता हराउँदै’

प्रकाशित: २९ श्रावण २०८२, बुधबार १२:४३ | लेखक: मालिका खबर

काठमाडौं  :  प्रतिनिधिसभा सांसद अमरेशकुमार सिंहले देशमा शीर्ष नेताहरूविरुद्ध स्वतन्त्र रूपमा बोल्ने वातावरण हराउँदै गएको बताएका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले तीन ठूला पार्टीका शीर्ष नेताहरू — केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ — का विरुद्धमा आलोचना गर्न कठिन परिस्थिति बनेको टिप्पणी गरे।
उनको भनाइमा, “यी नेताहरूविरुद्ध बोलेपछि त्यसको खैरियत हुँदैन।”

सिंहले चेतावनी दिंदै भने, “यदि कसैले उनीहरूको विरोधमा बोल्यो भने त्यसको परिणाम अमरेश सिंह, भीम रावल, रेशम चौधरी वा रवि लामिछानेजस्ता व्यक्तिहरूको अवस्थासँग मिल्दोजुल्दो हुन सक्छ। यस्तो उदाहरणको सूची दर्जनौं छ। साइबर सेक्युरिटीले यसमा थप चुनौती थपिरहेको छ।”

त्यस्तै, उनले सरकारले शिक्षा, सञ्चार र स्वास्थ्यजस्ता आधारभूत क्षेत्रको विकासमा गम्भीर ध्यान दिनुपर्ने आवश्यकता पनि औंल्याए।
उनको भनाइमा, यी क्षेत्रको मजबुती नै देशको वास्तविक प्रगतिका लागि आवश्यक आधार हो।