बजेट तयारीमा सरकारको म्याराथन छलफल : प्रधानमन्त्री शाह, रवि र वाग्लेबीच ४ घण्टा गोप्य बैठक
काठमाडौं : आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर प्रधानमन्त्री बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच सिंहदरबारमा लामो छलफल भएको छ ।

मंगलबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठक झन्डै चार घण्टाभन्दा बढी समयसम्म चलेको बताइएको छ । बैठकमा मुख्य रूपमा आगामी बजेटका प्राथमिकता, सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनको रणनीति तथा आर्थिक सुधारका विषयमा केन्द्रित भएर छलफल भएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री शाह, सभापति लामिछाने र अर्थमन्त्री वाग्लेबीच विकास खर्च बढाउने, प्रशासनिक सुधारलाई प्रभावकारी बनाउने तथा जनताले प्रत्यक्ष अनुभूति गर्ने कार्यक्रमलाई बजेटमा कसरी समेट्ने भन्ने विषयमा गहन संवाद भएको थियो ।
प्रधानमन्त्री शाह दिनभर राजनीतिक तथा प्रशासनिक भेटघाटमा व्यस्त रहेपछि कार्यालय समय सकिएलगत्तै अर्थमन्त्री र रास्वपा सभापतिसँग छलफलमा बसेका हुन् । बालेन नेतृत्वको सरकारले ल्याउन लागेको पहिलो पूर्ण बजेट भएकाले यो भेटलाई राजनीतिक वृत्तमा विशेष अर्थका साथ हेरिएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी बजेटलाई “रूपान्तरणकारी” बनाउने दाबी गर्दै आएका छन् । आर्थिक शिथिलता हटाउने, रोजगारी सिर्जना गर्ने र सुशासनलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी सरकारको रहेको बताइएको छ ।