Online News Portal

ग्रामीण बस्तीमै विशेषज्ञ सेवा, निःशुल्क स्वास्थ्य शिविरबाट २४५ जना लाभान्वित

प्रकाशित: ४ जेष्ठ २०८३, सोमबार ०५:३१ | लेखक: मालिका खबर

काठमाडौँ : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ वन समितिमा सञ्चालन गरिएको निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट २ सय ४५ जना स्थानीय नागरिक लाभान्वित भएका छन्। आइतबार वडा कार्यालयको आयोजनामा सम्पन्न शिविरमा विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण, उपचार, परामर्श, औषधि वितरण तथा रगत परीक्षण सेवा प्रदान गरिएको थियो।

 

शिविरमा उपचारका लागि आउनेमध्ये अधिकांश महिला रहेका थिए। आधारभूत स्वास्थ्यचौकी वन समितिका प्रमुख हरिनाथका अनुसार सेवा लिन आउनेमध्ये करिब ९८ प्रतिशत महिला थिए। शिविरमा ७८ जना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएकामा सात जनामा शङ्कास्पद लक्षण फेला परेको जनाइएको छ।

 

त्यसैगरी १ सय २ जनाको उच्च रक्तचाप परीक्षण तथा १ सय १० जनाको मधुमेह परीक्षण गरिएको थियो। परीक्षणका क्रममा ३५ जनामा उच्च रक्तचापको समस्या देखिएको स्वास्थ्यकर्मीले बताएका छन्।

शिविरमा तल्लो पेट दुख्ने समस्या लिएर आएका दुई महिलामा पाठेघर खसेको समस्या समेत पहिचान भएको जनाइएको छ। स्थानीयवासीलाई सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको वडाध्यक्ष चक्रबहादुर खडकाले बताए।

 

उनले ग्रामीण क्षेत्रका नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा पुर्‍याउन यस्ता कार्यक्रम प्रभावकारी बन्दै गएको उल्लेख गर्दै समयमै परीक्षण र उपचारको पहुँच विस्तार गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए।

शिविरमा स्त्रीरोग सेवा, पाठेघरको मुखको क्यान्सर परीक्षण, उच्च रक्तचाप तथा मधुमेह जाँच, दमखोकीसम्बन्धी सेवा लगायत सुविधा प्रदान गरिएको थियो। वडा कार्यालयले प्रत्येक वर्ष स्वास्थ्य शिविर तथा आँखा उपचार शिविर सञ्चालन गर्दै स्थानीय नागरिकलाई निःशुल्क चिकित्सकीय सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।