Online News Portal

आचारसंहिता उल्लङ्घनको आशंकामा सीके राउतसहित तीन उम्मेदवारसँग निर्वाचन आयोगको स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका सीके राउत, खगेन्द्र सुनार र निशा अधिकारीसँग स्पष्टीकरण माग गरेको छ। विभिन्न उजुरीका आधारमा उनीहरूबाट लिखित जवाफ मागिएको आयोगले जनाएको छ।

आयोगले सप्तरी निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवार रहेका सीके राउतलाई सार्वजनिक स्थान तथा चौबाटोमा निर्वाचन चिह्न र पार्टी झण्डा प्रयोग गरी तोरण निर्माण गरेर प्रदर्शन गरिएको आरोपबारे तीन दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।

यसैगरी, गतिशील लोकतान्त्रिक पार्टीकी तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र नं. ५ मा उम्मेदवार रहेकी निशा अधिकारीसँग पनि तीन दिने स्पष्टीकरण माग गरिएको छ। अष्ट्रेलियामा रहेका नेपाली नागरिकलाई स्वयंसेवक आवेदन फाराम पठाई क्यूआर कोडमार्फत चुनावी अभियानका लागि सहयोग मागिएको भन्दै आयोगमा उजुरी परेको थियो।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट बाँके निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार खगेन्द्र सुनारसँग पनि आयोगले स्पष्टीकरण सोधेको छ। राष्ट्रिय जनावर गाईलाई विषय बनाएर साम्प्रदायिक सद्भावमा असर पर्ने किसिमको सूचना प्रवाह गरिएको भन्ने जानकारी आएपछि सो कार्य निर्वाचन आचारसंहिता विपरीत हो वा होइन भन्ने विषयमा स्पष्ट पार्न आयोगले निर्देशन दिएको जनाएको छ।

Advertisement

Click the button below to skip this ad and read the full article.