Online News Portal

कांग्रेसमा कुनै मतभेद छैन, राष्ट्रिय भेला बोलाउने हल्ला कपोकल्पित

काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले पार्टीको राष्ट्रिय भेला बोलाइने भन्ने चर्चा आधारहीन भएको स्पष्ट पारेको छ। राष्ट्रियसभा निर्वाचनपछि देउवा–खड्का पक्षले राष्ट्रिय भेला आयोजना गर्न लागेको हल्ला चलेपछि उक्त समूहले त्यसलाई अस्वीकार गरेको हो।

कांग्रेसका निवर्तमान प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै राष्ट्रियसभा निर्वाचनलगत्तै राष्ट्रिय भेला बोलाइने भन्ने समाचार कपोकल्पित मात्र भएको बताएका छन्। उनका अनुसार अहिले पार्टीभित्र कुनै मतभेद नरहेको र सबैको ध्यान निर्वाचनमा ‘रूख चिह्न’मा बहुमत हासिल गर्नमै केन्द्रित छ।

“अहिले पार्टीभित्र मतभेद छैन। सबैको ध्यान निर्वाचन र रूख चिह्नमा बहुमत ल्याउनमै केन्द्रित छ,” उनले लेखेका छन्, “देउवा–खड्का पक्षले राष्ट्रियसभा निर्वाचनलगत्तै राष्ट्रिय भेला बोलाउने भन्ने कुरा हल्लामात्र हो।”

विश्वकर्माले पार्टीका तर्फबाट सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गरिएको दाबी गर्दै त्यसलाई सबैले स्वीकार गर्नुपर्ने धारणा पनि व्यक्त गरेका छन्। “पार्टीले सभापति गगन थापालाई ‘भावी प्रधानमन्त्री’ घोषणा गरिसकेको छ, यसबाहेक अन्यथा गर्ने कसैलाई छुट छैन,” उनले उल्लेख गरेका छन्।

Advertisement

Click the button below to skip this ad and read the full article.