कठ्याङ्ग्रिँदो जाडोमा पनि उपल्लो मुस्ताङका बिरामीसँगै रामलाल गुरूङ

काठमाडौँ : उपल्लो मुस्ताङमा जाडो बढ्दै जाँदा बस्ती सुनसान बन्दै जान्छन्। धेरैजसो स्थानीय चिसो छल्न बेंसी झर्छन्। तर यही मौसममा लोमान्थाङ सामुदायिक स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मी रामलाल गुरूङको व्यस्तता झनै बढ्छ।
कठ्याङ्ग्रिँदो जाडोका बीच गुरूङ बालबालिकादेखि वृद्धवृद्धासम्मको स्वास्थ्य परीक्षणमा बस्ती–बस्ती पुगिरहनुहुन्छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, लोमान्थाङ इलाका कार्यालयअन्तर्गत कार्यरत उहाँ चिसोबाट लाग्ने रोगको जोखिमबारे सचेतना दिँदै उपचार सेवा प्रदान गर्दै आउनु भएको छ।
लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा जाडोयाममा मोबाइल क्लिनिक सञ्चालन गर्नु गुरूङको दैनिकी जस्तै बनेको छ। कहिले गोठालासहित चरन क्षेत्रमा पुगेर उपचार गर्नुहुन्छ भने कहिले दुई दिनसम्म पैदल हिँडेर विकट बस्तीका बिरामीसम्म पुग्नुहुन्छ।
चीन–नेपाल सिमानासँग जोडिएको कोरला नाका, छोसेर, लोमान्थाङ, घमी, सुर्खाङ र चराङ क्षेत्रमा बस्ती पातलिँदै गए पनि वृद्धवृद्धाको संख्या बढी भएकाले उपचारको आवश्यकता झनै देखिएको गुरूङ बताउनुहुन्छ। जाडो मौसममा मधुमेह, उच्च रक्तचाप, छाला सुक्ने, आँखामा पोल्ने, रुघाखोकी, नसा दुख्ने, हातखुट्टा सुनिने र कम्मर दुख्ने समस्या बढी देखिने उहाँको अनुभव छ।
वि.सं. २०५० सालदेखि स्वास्थ्य सेवामा आबद्ध गुरूङले सुत्केरी सेवा, लेक लागेका सिकिस्त बिरामी, दुर्घटनामा घाइते तथा आकस्मिक उपचारमा घरदैलोमै सेवा दिँदै आउनुभएको छ। यही कारण उहाँ उपल्लो मुस्ताङबासीबीच निकै लोकप्रिय हुनुहुन्छ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना लोमान्थाङ इलाका कार्यालयका प्रमुख उमेश पौडेलका अनुसार तीन दशकभन्दा बढी समयदेखि स्वास्थ्य क्षेत्रमा खटिँदै आउनुभएका गुरूङ जाडो मौसममा अझ सक्रिय देखिनुहुन्छ। “उहाँको तत्परताका कारण धेरैले ज्यान जोगाएका छन्, रातदिन नभनी सेवामा खटिनुहुन्छ,” पौडेल भन्नुहुन्छ।
हालै शैक्षिक भ्रमणमा आएकी ब्रिजवाटर इन्टरनेशनल कलेजकी एक छात्राको अक्सिजन मात्रा कम भई अचेत भएपछि गुरूङले करिब १५ मिनेट सिपिआर गरेर ज्यान बचाउन सफल हुनुभएको थियो। छात्रालाई खतरामुक्त बनाएपछि कलेजका शिक्षकको जिम्मा लगाइएको थियो।
स्वास्थ्य सहायक गुरूङले लोमान्थाङ, लो–घेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका सबै वडामा घुम्ती शिविर, मोबाइल क्लिनिक र घरदैलो उपचार अभियान सञ्चालन गर्दै आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना लोमान्थाङ इलाका कार्यालयले जनाएको छ।