प्रधानमन्त्री ओलीको बालकोटस्थित निजी निवासमा प्रदर्शनकारीद्वारा आगजनी

काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा आगजनी गरिएको छ।
स्थानीय स्रोतका अनुसार, प्रदर्शनकारीको एक समूहले मंगलबार दिउँसो भक्तपुरको बालकोटस्थित ओलीको निवासलाई लक्षित गर्दै आगजनी गरेका हुन्। आगलागी नियन्त्रणमा लिन सुरक्षा निकाय तत्कालै घटनास्थल पुगेको बताइएको छ।
आगो लाग्दा घरको केही भागमा क्षति पुगेको प्रारम्भिक जानकारी आएको छ। घटनामा मानवीय क्षति नभएको जनाइएको छ भने आगलागीको कारण र यसमा संलग्न व्यक्तिहरुको पहिचानबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसअघि पनि ओलीको घर वरपर प्रदर्शन हुने गरेका थिए तर प्रत्यक्ष आगजनी भने पहिलोपटक भएको हो। अहिले घर वरिपरि उच्च सुरक्षा व्यवस्था मिलाइएको छ।