Online News Portal

छ वर्ष छाउगोठमा बिताएका धनवीरेको उद्धार, कुष्ठरोग नभएको पुष्टि

काठमाडौँ : हुम्लाको सिमकोट गाउँपालिका–८ याङगु गाउँका ५६ वर्षीय धनवीरे कामीले अन्धविश्वासको कारणले छ वर्ष छाउगोठमै बिताउन बाध्य भए। परिवारले कुष्ठरोग लागेको आशङ्कामा उनलाई समाजबाट टाढा राखेका थिए। तर हाल जिल्ला प्रशासन र स्वास्थ्य कार्यालयको समन्वयमा उनको उद्धार गरिएको छ।

शनिबार जिल्ला अस्पतालको टोली गाउँमै पुगेर एम्बुलेन्समार्फत कामीलाई अस्पताल लगिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा. उमाकान्त तिवारीले जानकारी दिए।
“अस्पतालमा ल्याएर परीक्षण गर्दा उनलाई कुष्ठरोग नभएको पुष्टि भएको छ,” तिवारीले भने, “तर अन्तिम निष्कर्ष अन्य परीक्षणपछि मात्र आउँछ।”

डा. तिवारीका अनुसार, कामीका खुट्टा र शरीरका केही भाग नचल्ने अवस्था छ भने हातखुट्टाका औँला बाङ्गो भएका छन्, जसका कारण उनी अपाङ्गता जस्तै अवस्थामा छन्। उपचारको अभाव, चिसो, भोक र सामाजिक बहिष्कारको पीडामा उनले लामो समय बिताए।

घरपरिवारले घरमै राख्न चाहेका भए पनि गाउँलेको डरका कारण उनलाई छाउगोठमै राखिएको कामीका आफन्तले जनाएका छन्। भाइहरूले महिनाको पालो मिलाएर हेरचाह गर्दै आएका थिए।

छाउगोठबाट उद्धार भएपछि धनवीरेलाई केही राहत महसुस भएको उनको आफन्त जसपाल कामीले बताएका छन्। अहिले उनको निःशुल्क उपचार भइरहेको छ।

यो घटना अन्धविश्वास र सामाजिक विभेदका कारण कसरी व्यक्तिहरूले पीडा भोग्नुपर्ने अवस्था आउँछ भन्ने कुराको एउटा दुःखद उदाहरण हो।

Advertisement

Click the button below to skip this ad and read the full article.