बाढीले धानबाली बगाउँदा किसान चिन्तित, सडकको नाली अव्यवस्था कारण क्षति

काठमाडौँ : ‘धान थन्काउने बेलामा पानीले सबै बगायो,’ भन्छन् रामप्रसादराई गाउँपालिका–५ का किसान विश्वराज तामाङ, ‘सडकको पानी खेतमै पस्दा हाम्रो महिनौंको मिहिनेत खेर गयो।’
भोजपुरको कावा खोलानजिकका किसानहरू अहिले गम्भीर चिन्तामा छन्। सडक विस्तारको क्रममा नाली नबनाइएकाले सिधै खेतमा पानी पस्दा थन्काउने तयारीमा रहेको बर्खे धानबाली नष्ट भएको छ।
तामाङका अनुसार उनीसहित तीन जना किसानको बालीमा ठूलो क्षति पुगेको छ। ‘हरेक साल यस्तै समस्या दोहोरिन्छ,’ उनी भन्छन्, ‘माथिबाट बर्सातको पानी आउँछ, नाली छैन, सिधै खेतमा पस्छ।’
पहिलो खेपको धानबाली उठेपछि दोस्रो बाली लगाउने तयारी गर्ने किसानहरूलाई बर्खे पानीको बाढीले निराश बनाएको छ। खेतीयोग्य जमिन बर्सेनि बाँझिँदै गइरहेको अवस्थामा राज्यले किसानका लागि सहुलियत र प्रोत्साहन कार्यक्रम ल्याउनुपर्नेमा तामाङको जोड छ।
भोजपुरमा दुई नगरपालिका र सात गाउँपालिका छन्। कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार जिल्लामा झन्डै १२ हजार ५० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ। तर, प्राविधिक लापरबाही र योजना विहीन पूर्वाधार विकासका कारण किसानले वर्षेनी क्षति व्यहोर्नु परेको देखिन्छ।