Online News Portal

पक्राउ परे नेविसंघका १० कार्यकर्ता, शिक्षा ऐनको माग गर्दै नयाँ बानेश्वरमा प्रदर्शन

काठमाडौं :  शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित नयाँ बानेश्वरमा प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघ (नेविसंघ)का १० जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल कमर्स क्याम्पस इकाइद्वारा आयोजित प्रदर्शनका क्रममा निषेधित क्षेत्र उल्लंघन गर्ने प्रयास गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ।

नेविसंघले शिक्षा विधेयक शिक्षक तथा विद्यार्थीमैत्री हुनुपर्ने, शिक्षक नियुक्ति खुला प्रतिस्पर्धाबाट हुनुपर्ने र विद्यार्थीको प्रतिनिधित्वबिना विश्वविद्यालय सिनेट बैठक मान्य नहुने माग राख्दै आन्दोलन चर्काइरहेको छ।

यसैबीच, नेपाल शिक्षक महासंघले पनि शिक्षा विधेयकमा विगतका सहमति समेटिएको छैन भन्दै असन्तोष जनाउँदै पुनः आन्दोलनको चेतावनी दिएको छ। असार १५ भित्र विधेयक पारित गर्ने सहमति भएको भए पनि अहिलेसम्म पेस नभएको भन्दै महासंघले सरकारप्रति आक्रोश व्यक्त गरेको हो।

महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारले शिक्षक–कर्मचारीका भावना र अघिल्ला सहमति बेवास्ता गरेको छ। विधेयकले स्थायी–अस्थायी शिक्षकको व्यवस्थापन, सरुवा, बढुवा, द्वन्द्वपीडित शिक्षक समस्यालगायतका विषयमा गम्भीरता देखाएको छैन।’

यद्यपि संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले अस्थायी शिक्षकलाई ६० प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट नियुक्तिको व्यवस्था सहित विधेयक छलफलमा ल्याएको छ, महासंघले त्यसले शिक्षक आन्दोलनको मर्म समेट्न नसकेको ठहर गरेको छ।

Advertisement

Click the button below to skip this ad and read the full article.