चिकित्सक संघको आन्दोलनले देशभर आकस्मिकबाहेकका सेवा ठप्प, बिरामीहरू मारमा


काठमाडौं : नेपाल चिकित्सक संघको आह्वानमा देशभरका अस्पतालहरूमा आज आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द छन्। सेवाको अवरोधले स्वास्थ्य परीक्षणका लागि आएका सर्वसाधारण बिरामी र तिनका आफन्तहरू अस्पतालमै अलपत्र परेका छन्।
संवेदनशील क्षेत्रको रुपमा लिइने अस्पतालहरूमा हड्ताल नहुने प्रावधान भए पनि त्यो पालना नहुँदा आवश्यक सेवा नपाएर बिरामीहरू हैरान भएका छन्। अधिकांश अस्पतालमा ओपीडी सेवा ठप्प हुँदा बिहानैबाट लाइन लागेका नागरिकहरू सेवाविहीन फर्कन बाध्य भएका छन्।
नेपाल चिकित्सक संघले उपभोक्ता अदालतका पछिल्ला फैसलाले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै आजको आन्दोलनको घोषणा गरेको हो। केही साता यता अदालतले उपचारमा लापरवाही सम्बन्धी मुद्दामा अस्पताल र चिकित्सकहरूलाई दोषी ठहर गर्दै ठूलो रकम क्षतिपूर्ति तिर्ने आदेश दिएको थियो।
जसअनुसार ओम अस्पताललाई ५० लाख ७० हजार, हिमाल अस्पताल र सम्बन्धित चिकित्सकहरूलाई १ करोड ४५ लाख, र ग्राण्डी सिटी अस्पतालसहित त्यहाँ कार्यरत चिकित्सकहरूलाई ५७ लाख रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिइएको थियो। संघका अनुसार यी फैसलाले चिकित्सा क्षेत्रमा अन्योलता र असुरक्षा बढाएको छ।
आन्दोलनका कारण देशभरका बिरामीहरू आवश्यक सेवा नपाई मारमा परेका छन् भने चिकित्सा क्षेत्रभित्रको अधिकारसम्बन्धी बहस अझ चर्किएको छ।